काठमाडौं ।
कोभिड–१९ को उपचार गराइरहेका नेकपा एमालेका नेता एवं वाग्मती प्रदेशसभामा दोलखाबाट निर्वाचित सदस्य पशुपति चौलागाईँको मंगलबार राति निधन भएको छ । यही वैशाख २१ गते चौलागाईँ आफैँले फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना भएको सार्वजनिक गर्दै घरमै आराम गरिरहेको जानकारी दिएका थिए ।
कोरोनाले धेरै च्यापेपछि उनी केही दिनअगाडि काठमाडौंको मनमोहन अस्पतालमा भर्ना भएका थिए । सोमबारदेखि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । त्यहीँ उपचारको क्रममा मंगलबार राति उनको निधन भएको जनाइएको छ ।
दोलखाका स्थायी बासिन्दा चौलागाईँ २०५६ सालको आमनिर्वाचनमा पहिलोपटक सांसद पदमा निर्वाचित भएका थिए । उनी नेकपा एमालेको युवा संघका पूर्वअध्यक्ष पनि हुन् ।