काठमाडौं ।
काठमाडौं उपत्यका मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने प्रस्ताव गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको कार्यकक्ष सिंहदरबारमा बिहीबार भएको काठमाडौं मेयर फोरमका पदाधिकारीहरुको बैठकमा उनीहरुले उक्त प्रस्ताव गरेका हुन् । यसैगरी, अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर फोरमले पहलकदमी लिने भएको छ ।
बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्व लडाइँमा सरकारलाई साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गरे । कोरोनाविरुद्धको लडाइँमा संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी जनताको जीवन रक्षामा जुट्नुपर्ने उनको भनाइ थियो । राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाइँमा सफलता मिल्ने उनले बताए ।
शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ समेतको सहभागिता रहेको बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव समेत रहेका मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठको सहभागिता थियो ।