अमेरिका ।
अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले विश्वकै नयाँ मुद्रा बिटक्वाइनमा आधारित कारोबार नगर्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख एलन मस्कले एक ट्विट गर्दै जलवायु परिवर्तनप्रति ध्यानाकर्षण भएपछि यसअघि कम्पनीले गरेको भर्चुअल मुद्रामा कार कारोबारको निर्णय निलम्बन गरिएको बताएका हुन् ।
मस्कको उक्त ट्विटसँगै बिटक्वाइनको मूल्य १० प्रतिशतले खस्किएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार टेस्लाको सेयर पनि मस्कको ट्विटपछि खस्किएको छ । गत मार्च महिनामा टेस्लाले अब क्रिप्टोकरेन्सीमा पनि कम्पनीले कारोबार गर्ने घोषणा गरेको थियो ।
यसलाई लिएर केही वातावरणवादी र लगानीकर्ताले चिन्ता व्यक्त गरेका थिए । विद्युतीय कार निर्माताले गत फेब्रुअरीमा डेढ अर्ब अमेरिकी डलरबराबरको बिटक्वाइन खरिद गरेको बताएको थियो । तर बिहीबार कम्पनीले यसअघि गरेको आफ्नै निर्णय फिर्ता लिएको हो ।
मस्कले ट्विटमा लेखेका छन्, ‘बिटक्वाइन माइनिङ र कारोबारमा परम्परागत इन्धनको प्रयोग बढिरहेको प्रति हाम्रो ध्यानाकर्षण भएको छ, विशेषगरी कोइलाले अन्य इन्धनभन्दा धेरै खराब उत्सर्जन गर्छ ।’
यद्यपि उनले क्रिप्टोकरेन्सीलाई ‘गुड आइडिया’ भनेका छन् । तर यसो भन्दैमा वातावरण नाश गर्नेजस्तो ठूलो मूल्य चुकाएर यसलाई स्वीकार्न नसकिने उनको भनाइ छ । माइनिङ दिगो ऊर्जाको धेरै प्रयोगमार्फत हुने अवस्था आए भर्चुअल मुद्राको कारोबार गर्न सकिने उनको भनाइ छ ।
विश्लेषकहरुका अनुसार जलवायु परिवर्तन र दिगोपनामा केन्द्रित लगानीकर्ताको कारण टेस्लाले आफ्नो निर्णयबाट पछि हट्नुपरेको बताएका छन् ।