काठमाडौं ।
खर्च कटौतीको बहानामा तलव वृद्धि रोकेको भन्दै हिमालयन बैंक कर्मचारी संगठनले विरोध गरेको छ । हिमालयन बैंक कर्मचारी संगठनले गत वैशाख ३१ गते विज्ञप्ति जारी गर्र्दै खर्च कटौती र कोभिड १९ को बहानामा आमकर्मचारीहरुको थोरै तलव वृद्धिलाई एक वर्षपछि धकेलेको भन्दै विरोध गरेको हो ।
कर्मचारी संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कोभिड १९ को सेकेन्ड वेभका क्रममा कोेरोना भाइरसबाट संक्रमित भई उपचार तथा होम आइसोलेसनमा रहनुभएका सबै तहका कर्मचारी तथा परिवारमाजनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । बैंक व्यवस्थापनसमक्ष कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अपिल गर्दछौँ ।’
कर्मचारी संगठनले २०७७ साउन २३ गते पेश गरेको मागदाबी सीबीएले ढिलै भए पनि संगठनको अथक प्रयासको परिणामस्वरुप सकारात्मक निर्णयसहित मूर्तरुप पाउनैलागेको अवस्थामा एकाएक नाटकीय मोड लिएको संघले जनाएको छ ।
‘विगत एक वर्षदेखिको कोभिड १९ को महामारी र यसले समग्र अर्थतन्त्र र बैंकको व्यवसायमा पारेको प्रभावलाई मनन गर्दै, कर्मचारी र बैंक दुवै बाँच्नुपर्छ भन्ने भावनाका साथ सामान्य तलव वृद्धि (२०७७ साउनदेखि लागू हुने गरी) र अरु केही मागहरु सम्बोधन गरेर सीबीए गर्ने भन्ने सहमति वार्ता समितिसँग भएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘सोहीअनुसार २०७८ वैशाख ३० गते दुई पक्षीय हस्ताक्षर गर्ने मिति पनि तय भएको थियो । तर २०७८ वैशाख ३० गते ११ बजे सीबीए हस्ताक्षर गर्ने भनी मिति र समय तय भइसकेको अवस्थामा अप्रत्याशित रुपमा तलव वृद्धि २०७८ श्रावणदेखि मात्र लागू हुुने गरी सञ्चालक समितिबाट निर्णय भएको भन्ने कुरा जानकारीमा आयो, जुन संगठनको लागि कुुनै पनि हालतमा मान्य थिएन ।’ तसर्थ यस्तो अनपेक्षित प्रस्तावमा हाल सम्झौता नगर्ने निर्णय गरेको सबै कर्मचारीहरुलाई जानकारी गराएको छ ।
‘कर्मचारी साथीहरु, खर्च कटौती र कोभिड १९ को बहानामा आम कर्मचारीहरुको थोरै तलब वृद्धिलाई एक वर्षपछि धकेल्ने निर्णय आइरहँदा केही उच्च व्यवस्थापनहरुको ओटी प्रमोसन नै भइसकेको तितो खबर सुन्नमा आएको छ, जसले बैंकप्रति बफादार सम्पुर्ण कर्मचारीहरुमा अन्तर्मनबाट आक्रोश पैदा भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रमुुख कार्यकारी अधिकृतज्यूको शालीनता र भद्रतालाई समयानुकूल आफ्नो निजी स्वार्थको लागि मौकामा चौका हान्न माहिर केही गैरजिम्मेवार व्यवस्थापकहरुले सर्वथा अमान्य प्रवृत्तिको ओटी प्रमोसन लिएको र वैशाख महिनाकै स्यालरीमा २०७७ साउनदेखिकै माथिल्लो तहको स्यालरी डिफरेन्स, ग्रेड र क्यास इनिसिएटिभ समेत खाइसकेको खबरले उहाँहरुको उच्च नैतिकता उदांगो भएको छ ।
कर्मचारीहरुको तलब एवं सुविधा वृद्धिको निर्णय सञ्चार भइसकेको अवस्थामा र एनआईबीएलसँग बिग मर्जरको ऐतिहासिक हस्ताक्षर हुुनु केही घण्टाअघि मात्र कर्मचारीमाझ यस्तो सूचना प्रवाह हुुनुले आम कर्मचारीहरुको उत्साहमाथि गम्भीर वज्रपात भएको छ ।’
‘मानव संसाधन विभागमा बसेर विना पूर्वाग्रह उच्च नैतिकताका साथ सम्पूर्ण कर्मचारीहरुकोे समग्र वृत्तिविकासमा ध्यान दिनुुपर्ने एचआर हेड स्वयं आफैँ यो फोहोरी खेलमा लागेर विगत चार वर्षमा दुई पटक ओटी प्रमोसन लिने ?’, संघको प्रश्न छ, ‘के उहाँलाई एचआर हेड बनाई राख्नुपरेको यही मनपरी गर्न दिनकै लागि हो?’
विगत केही समय देखिएको विषम परिस्थितिमा बैंकको दीर्घकालीन स्थायित्वको लागि भनेर धेरै सेवा सुविधाहरु खोसिँदै जाँदा पनि कर्मचारीहरुको असन्तुष्टिका बाबजुद धैर्यता र उदारता देखाएका संघले जनाएको छ । ‘तर आज हामीलाई थाहा भयो, ती सबै कटौतीबापतको पुरस्कार सीमित व्यक्तिले थाप्नुपर्ने रहेछ । केवल आफ्नै पेट भर्नु पो रहेछ । अब हामी सहेर बस्दैनौँ । जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अनैतिक कपटपूर्ण र गैरजिम्मेवार गतिविधिका विरुद्ध लड्ने अठोट गरेका छौँ’, कर्मचारी संगठनका अध्यक्ष गौतम भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, बैंक निकट स्रोतले भने बैंकमा कार्यरत समिर आचार्य, सतिशराज श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, सुनिल प्रसाद गोर्खाली र शंकर जोशीसहितका पाँच जना कर्मचारीहरुले बैंकको मर्जर कमिटी र सञ्चालक समितिलाई समेत गुमराहमा राखेर उच्च व्यवस्थापन पक्ष समेत मिलेर बढुवा गराउन सफल भएपछि कर्मचारी संगठनले विज्ञप्ति जारी गरी विरोध गरेको हो । यी कर्मचारीहरुले अगाडिको मिति राखेर बढुुवा गरेको र बढुवाकै आधारमा थप पारिश्रमिक पनि लिएपछि कर्मचारी संगठन विरोधमा उत्रिएको स्रोतले जनाएको छ ।