काठमाडौं ।
कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजनको व्यवस्थापन गर्न निजी क्षेत्र पनि जुटेको छ । मुलुकभर अक्सिजनको अभाव भएपछि एभरेष्ट ग्यास ग्रुपका अध्यक्ष व्यवसायी शिवप्रसाद घिमिरेले चीनबाट अक्सिजन ब्याग, अक्सिजन मास्क तथा अक्सिजन सिलिण्डर ल्याउने भएका हुन् ।
ग्रुपअन्तर्गतका दुई कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेड प्रालि र एभरेष्ट ग्यास उद्योग प्रालिमार्फत भित्र्याइने यी सामग्री सात दिनभित्रै आइपुग्ने अध्यक्ष घिमिरेले जानकारी दिए । पहिलो चरणमा ४० लिटर क्षमताका पाँच हजार सेट अक्सिजन ब्याग तथा पाँच हजार अक्सिजन मास्क र दुई हजार अक्सिमिटर सोमबार हवाइमार्गबाट काठमाडौं आइपुग्ने जनाइएको छ । यस्तै, अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २२५० युनिट जेठ ७ गतेभित्र स्थलमार्गबाट नेपाल ल्याइपु-याइने अध्यक्ष घिमिरेले जानकारी दिए ।
घिमिरेले मुलुकमा अक्सिजन अभावको समस्या भयावह भएको उल्लेख गर्दै यो बेला मुनाफा नराखी लागत मूल्यमा यी सामग्री आवश्यकताका आधारमा अस्पताल तथा व्यक्तिहरुलाई उपलब्ध गराइने जानकारी दिए ।
‘अहिलेको महामारीमा हामी सबै व्यवसायीले विदेशमा आफ्नो नेटवर्कमार्फत अक्सिजनलगायतका अत्यावश्यकीय स्वास्थ्य सामग्री भित्र्याउन पहल गर्नुपर्छ भनेर यो प्रयास गरिएको हो’, उनले भने, ‘तत्कालका लागि अक्सिजन सिलिण्डर, ब्याग र मास्क भित्र्याएका छौँ र आवश्यकताका आधारमा थप सामग्री ल्याउने योजनामा छौँ ।’ अक्सिजन ब्यागको उपयोगिता यातायातको पहुँच नपुगेका क्षेत्रमा तत्काल अस्पताल पु-याउनुपर्ने संक्रमितका लागि गर्न सकिने जनाइएको छ । अन्य मुलुकमा यस्तो ब्याग आपत्कालीन उपचारका लागि प्रभावकारी साबित हुँदै आएको छ ।