काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलतापश्चात् अझ परिस्कृतरूपमा ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरू बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन बीमा योजना ल्याएको हो ।
१८ देखि ७० वर्षसम्मको कुनै पनि स्वस्थ व्यक्तिले बीमा गर्न सकिने नौलो सुरक्षित जीवन बीमा योजनामा आम्दानीको आधारमा अधिकतम बीमांक छनोट गर्न सकिने कम्पनीले विज्ञप्तिमा जनाएको छ । यस बीमा योजनाअन्तर्गत बीमितले बीमालेख चालू रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा ‘बीमालेखमा उल्लेख भएको बीमांक रकम र आर्जित बोनस’ बीमा अवधि समाप्तिमा एकमुष्ट प्रदान गर्नेछ । त्यसैगरी, बीमालेख चालू रही बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेखअन्तर्गत नपर्ने जोखिमहरूबाहेक) बीमितको मृत्यु भएमा ‘बीमांक रकम र आर्जित बोनस’ एकमुष्ट प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।
यदि दुर्घटना मृत्यु लाभ सुविधा थप लिएको छ भने चालू बीमालेखअन्तर्गत बीमा अवधिभित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा ‘बीमालेखमा उल्लेख भएको बीमांक रकम, दुर्घटना मृत्यु लाभ सुविधाबापतको बीमांक रकम र आर्जित बोनस रकम’ एकमुष्ट भुक्तानी पाइनेछ ।
त्यसैगरी दुर्घटना मृत्यु लाभ तथा अपांग, अशक्त सुविधा लिएको छ भने बीमालेख चालू रही बीमा अवधिभित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अंगभंग भई स्थायी अशक्तता भएमा ‘बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपांग अशक्त सुविधाबराबर रकम मासिक एक सय २० समान किस्ता’ मा अपांग अशक्त बीमितलाई भुक्तानी उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यस नौलो सुरक्षित जीवन बीमा योजनाअन्तर्गत वार्षिकरूपमा बीमाशुल्क भुक्तान गर्दा कम्पनीले एक प्रतिशतसम्म छुट प्रदान गर्नेछ । बीमितको आवश्यकता तथा सुविधालाई मध्यनजर गर्दै उक्त बीमा योजनामा तीन वर्षको बीमाशुल्क भुक्तान गरी तीन वर्ष पूरा भइसकेपछि समर्पण मूल्य प्राप्त हुने तथा बीमालेखलाई धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण सुविधा लिन सकिनेछ ।
समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।
नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरू ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन–पे, आईएमई–पे तथा प्रभु–पेलगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकताअनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता ससेत जनाएको छ ।