अमेरिका ।
सामाजिक सञ्जाल कम्पनी ह्वाट्सएपको विवादित नयाँ नियम ग्राहकले स्वीकार्नुपर्ने समय सकिएको छ । मेसेजिङ प्लेटफर्मको नयाँ नियम स्वीकारेर नयाँ अपडेट गर्ने समय मे १५ सम्मका लागि कम्पनीले दिएको थियो ।
परिवर्तित नियम ग्राहक र व्यवसायबीचको अन्तक्र्रियामा सम्बन्धित छ । जनवरीमा नयाँ नियम घोषणापछि यसले मातृकम्पनी फेसबुकलाई डेटा सेयर गर्छ भनेर विवादित बनेको थियो । यद्यपि यसका धेरैजसो अर्थात् दुई अर्ब प्रयोगकर्ताले नयाँ नियम स्वीकारिसकेको कम्पनीले जनाएको छ ।
बीबीसीका अनुसार नयाँ नियम नस्वीकार्ने ग्राहकले च्याटलिस्ट हेर्न नपाउनुका साथै भिडियो कल र मेसेज गर्न असमर्थ हुने बताइएको छ । यद्यपि उनीहरुको एकाउन्ट भने डिलिट नहुने कम्पनीले जनााएको छ ।
जनवरीमा घोषणापछि प्रयोगकर्ताले एप छोडेर प्रतिस्पर्धी कम्पनी टेलिग्राम, सिग्नजस्ता एप प्रयोग गर्ने चेतावनी दिएका थिए । तर कम्पनीले भने यसलाई गलत सूचनाको शिकार भन्दै आफ्नो निर्णयको बचाउ गरेको थियो । ह्वाट्सएपका मेसेजहरु यसअघि प्रेषक र प्रापकले मात्रै पढ्न र हेर्न पाउँथे ।
यसअघिको पोस्टमा कम्पनीले फोन नम्बरलगायत अन्य सूचनाहरु फेसबुकलाई सेयर गरेको उल्लेख गरेको थियो । परिवर्तित नियम युरोप र युकेमा भने लागू नहुने बताइएको छ ।