काठमाडौं ।
सरकारले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि थप रकम दिने प्रतिबद्धता व्यक्त गरेको छ । अर्थ मन्त्रालयले अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयद्वारा आइतबार जारी प्रेस नोटमा जनाइएअनुसार २६ वटा केन्द्रीय अस्पताल र नौवटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो । यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि एक अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।
कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको जनाइएको छ ।
काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार छ सय नौ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार आठ सय ८१, ललितपुरमा चार सय ३६ र भक्तपुरमा दुई सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्या २९ हजार ६५ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ३२ हजार आठ सय १५ निको भएका छन् भने एक हजार एक सय ३८ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल सात हजार एक सय १८ सक्रिय सङ्क्रमित रहेका छन् ।
हालसम्म २० हजार तीन सय ४१ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट तीन सय चार सङ्क्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुरमा चार हजार नौ सय ७८ सक्रिय सङ्क्रमित छन् । निको हुनेको संख्या ११ हजार तीन सय ४३ रहेको छ भने दुई सय २१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
यस्तै, नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । पछिल्लो समय कोरोनाबाट एक सय ४५ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच हजार एक पुगेको मन्त्रालयले जनाएको छ ।
आइतबार थप सात हजार तीन सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ५५ हजार २० पुगेको छ । थप १९ हजार चार सय ३९ जनाको पीसीआर परीक्षण तथा दुई सय ४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पीसीआर विधिबाट सात हजार तीन सय १६ तथा एन्टिजेनबाट ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २७ लाख ७० हजार नौ सय ८० जना पुगेको छ । हाल सात सय एक सङ्क्रमित क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म तीन लाख ३९ हजार सात सय ५६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर छ हजार छ सय ४८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । शनिबार पाँच हजार चार सय ५५ सङ्क्रमित निको भई घर फर्किएका थिए । निको हुने दर ७४ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख १० हजार दुई सय ६३ सक्रिय सङ्क्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा सात हजार आठ सय आठ तथा होम आइसोलेसनमा एक लाख दुई हजार चार सय ५५ रहेका छन् । हाल देशभर सात सय एक सङ्क्रमित क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, सरकारले विभिन्न ठाउँमा रहेका एक हजार दुई सय ९२ अक्सिजन सिलिण्डर फिर्ता गरेको छ । उद्योग तथा अन्य क्षेत्रमा प्रयोगमा रहेका ती सिलिण्डर फिर्ता गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
एक सय २६ स्थानका उद्योग र अन्य क्षेत्रमा अनुगमन गरी ती सिलिण्डर फिर्ता गरिएको हो । नेपालमा अहिले एक लाख ११ हजार तीन सय ६४ सिलिण्डर ग्यास छन् । काठमाडौँ उपत्यकाका १० उद्योग र बाहिरका १९ उद्योगका ठूला ७२ हजार दुई सय ५० र साना ३९ हजार एक सय १४ सिलिण्डर छन् ।
यसैगरी देशभरि ३१ हजार आइसोलेसन सेन्टरको व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तीमध्ये एक हजार पाँच सय अक्सिजनसहितका आइसोलेसन सेन्टर छन् । सङ्क्रमितको उपचारका लागि १० हजार आठ सय १२ सामान्य शय्या, हाइ डिपेन्डेन्सी (एचडीयू) दुई हजार पाँच सय ९०, एक हजार छ सय २३ सघन उपचार कक्ष (आईसीयू) र पाँच सय ९८ भेन्टिलेटर छन् ।
चीनले पठाएको १८ हजार सिलिन्डर नेपालमा : सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पु¥याएको छ । स्थलमार्ग हुँदै आइतबार १८ हजार सिलिन्डर नेपाल ल्याइएको हो । १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको छ । तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।
सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि चार सय सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार छ सय सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।
आइतबार नै चीनबाट पाँच सय ५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानले ल्याएको छ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैरआवासीय नेपाली सङ्घको सहयोगमा पाँच सय ६० खाली सिलिन्डर आएको थियो । कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।
यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका पाँच सय ६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । पश्चिम एसियामा रहेका नेपाली एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका ७५ लाखभन्दा बढीको अक्सिजन सिलिण्डर आइतबार संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।
७५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित : आइतबारसम्म सात सय ५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा महासङ्घले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिलसमेत गरेको छ ।