काठमाडौं ।
प्रजातान्त्रिक विचार समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको लोकतान्त्रिक योद्धा सम्मान मैयादेवी श्रेष्ठ र कमल चित्रकारलाई प्रदान गर्ने भएको छ । लोकतान्त्रिक योद्धा सम्मान २०७७ र २०७८ बाट क्रमशः सामाजिक अभियान्ता एवं महिला नेतृ श्रेष्ठ र नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु-याएका चित्रकारलाई प्रदान गर्ने निर्णय भएको समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले जानकारी दिए ।
समाजको तर्फबाट गठित छनोट समितिको सिफारिसको आधारमा गत वैशाख ३० गते जुम प्रविधिमार्फत बसेको समाजको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । उनीहरूले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पु-याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको केसीको भनाइ छ । सम्मानको राशि जनही २५ हजार रूपैयाँ र कदरपत्र रहेको छ । सो सम्मानको लागि समाजले १० लाख रूपैयाँको अक्षय कोष स्थापना गरेको छ ।
समाजको स्थापना दिवसका दिन अर्थात् जेठ ३ गतेका दिन प्रदान गर्ने गरेको उक्त सम्मान कार्यक्रम विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण प्रदान गर्न नसकिने भएकाले दुवै सम्मान मुलुकमा सहज वातावरण बनेपछि विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने जनाएको छ ।
विसं २०७२ सालदेखि प्रदान गरिँदै आएको लोकतान्त्रिक योद्धा सम्मानबाट यसअघि क्रमशः कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बास्तोला, पुरुषोत्तम बस्नेत र नूतन थपलिया सम्मानित भइसकेका छन् ।