बाँके ।
भेरी अस्पताल विकास समितिलाई कोभिड नियन्त्रणका लागि ९० हजार नगद सहयोग हस्तान्तरण गरिएको छ । कोभिड १९ का बिरामीहरुका लागि अक्सिजन खरिद गर्ने उद्देश्यले नेपालिज अमेरिकन च्याम्बर आफ कमर्स तथा टेक्सास नेपालिज मेडिकल एसोसिएसनको सहयोगमा बास नेपाल नेपालगञ्जले सो रकम हस्तान्तरण गरेको हो ।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार धिताल, भेरी अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापालाई बासका कार्यकारी निर्देशक नमस्कार शाह, निवर्तमान अध्यक्ष मन भण्डारी र निर्देशक हेमराज भट्टले चेक हस्तान्तरण गरेका हुन् ।
यसैबीच नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्य सहायता कक्ष उद्घाटन गरिएकोे छ । कोभिड १९ का बिरामीहरुको सहयोगार्थ नेपालिज अमेरिकन च्याम्बर आफ कमर्स तथा टेक्सास नेपालिज मेडिकल एसोसिएसनको सहयोग, डीसीसीएमसी बाँके र भेरी अस्पतालको समन्वय तथा बास नेपालको व्यवस्थापनमा सो स्वास्थ्य डेस्क सञ्चालन गरिएको हो ।
भेरी अस्पतालको आकस्मिक कक्ष अगाडि स्थापना गरिएको स्वास्थ्य डेस्कको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार धिताल र भेरी अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले उद्घाटन गरेका हुन् । स्वास्थ्य डेस्कको उद्घाटन भएसँगै आइतबारबाट नै डेस्कबाट सेवा प्रारम्भ गरिएको छ ।