नयाँ दिल्ली ।
भारतीय अटो क्षेत्रलाई सन् २०१९ निकै चुनौतीपूर्ण रह्यो । यो क्षेत्रले सन् २०२० मा त सुधार आउला भन्ने आशाा गरेको थियो तर भनेजस्तो भएन । कोरोनाको अर्को लहर चल्यो । फेरि कडिकडाइ सुरु भयो । सन् २०२० को जुनतिर फेरि यो क्षेत्रमा सुधार आउनथाल्यो ।
वर्षान्तसम्म यो क्षेत्रमा कम्पनीहरुको बिक्री राम्रैसँग बढ्यो । यसले राम्रो संकेत गरेको थियो । तर पछिल्लो कोरोना लहरले फेरि यो क्षेत्रमा चिन्ता थपिदिएको छ । पछिल्लो वर्षको तुलनामा दोस्रो लहरसँगै अटो क्षेत्रले धेरै नोक्सानी व्यहोर्नुपरेको भारतीय मिडियाले जनाएका छन् ।
दोस्रो लहरसँगै भारतमा एकै दिन चार लाखभन्दा बढी संक्रमित थपिनुका साथै प्रतिदिन ३/४ हजार संक्रमितको मृत्यु भएपछि धेरै राज्यहरुले लकडाउन ब्युँताए । योसँगै सबै ठप्प भए । फेडेरेसन अफ अटोमोबाइल डिलर्स एसोसिएन (फाडा) का अनुसार कोरोना साना सहरदेखि गाउँसम्म पुग्दा अटो क्षेत्र पुनरुत्थान हुन निकै समय लाग्ने देखिएको छ ।
पछिल्लो वर्ष कोरोनाको खतरालाई मध्यनजर गर्दै भारतीय ग्राहकले भीडबाट बच्न धेरैभन्दा सवारीसाधन खरिद गरेका थिए । जसले लकडाउनबाट भएको असरबाट कम्पनीहरुलाई केही राहत दियो । तर अहिले भारतीय गाउँदेखि सहरसम्म कोरोनाले नराम्ररी प्रभावित बनाएको छ । सोही कारण अटो क्षेत्र उठ्न केही समय लाग्ने फाडाको भनाइ छ ।
संघका अनुसार सन् २०१९ मार्चमा यो क्षेत्रको स्थिति जस्तो थियो, त्यो स्थितिमा पुग्न पनि अब दुई वर्षको समय लाग्नेछ । मार्चको तुलनामा अप्रिलमा सवारीसाधन खरिद २८.१ प्रतिशतले घटेको छ । रिपोर्टअनुसार प्यासेन्जर, दुई र तीनपांग्रे सवारीसाधनसँगै कमर्सियल सवारीसाधनको बिक्रीमा पनि भारी गिरावट आएको छ । फाडाका अनुसार सन् २०२१ को अप्रिलमा ११ लाख ८५ हजार ३ सय ७४ सवारीसाधन दर्ता भएको छ ।
मार्च २०२० मा १६ लाख ४९ हजार ६ सय ७८ वटा दर्ता भएका थिए । मे महिनाको कुरा गर्दा सवारीसाधन खरिदमा झनै कमी आएको छ । फाडाका अनुसार डिलरशिप खुलेका स्थानमा पनि ग्राहक आउने संख्या ३० प्रतिशतले घटेको छ । कार किन्ने मनस्थिति बनाएका ग्राहकले समेत रुचि फेरेको बताइएको छ ।
त्यसो त कोरोनाकै कारण कयौँ कारखानाहरु बन्द भएका छन् । भारतको सबैभन्दा ठूलो सवारीसाधन कम्पनी मारुती सुजुकी र सबैभन्दा ठूलो दुई पांग्रे सवारीसाधन कम्पनी हिरो मोटोकर्पले १६ मेसम्म आफ्ना उत्पादन कारखाना अस्थायी रुपले बन्द गरेका छन् । यी प्रोडक्सन युनिटमा १६ मेसम्म कुनै पनि उत्पादन भएनन् ।