काठमाडौं ।
संघीय सरकारले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा संघीय सरकारले २० अर्ब ५० करोडको ट्रेजरी बिल, ९० अर्बको विकास ऋणपत्र, दुई अर्बको नागरिक बचतपत्र र एक करोड ५३ लाखको वैदेशिक रोजगार बचतपत्र समेत गरी कुल एक खर्ब १२ अर्ब ५२ करोड रुपैयाँबराबरको आन्तरिक ऋण परिचालन गरेको हो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति एक खर्ब चार अर्ब ३९ करोड रुपैयाँ रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ७१ अर्ब ३३ करोड हस्तान्तरण गरेको छ । यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट ३३ अर्ब छ करोड परिचालन गरेका छन् ।
यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च ६२ अर्ब ६५ करोड रुपैयाँ रहेको राष्ट्र बैैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको चैत मसान्तसम्ममा सरकारको चालू खर्च पाँच खर्ब २६ अर्ब ९७ करोड, पुँजीगत खर्च एक खर्ब पाँच अर्ब ७३ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च ५७ अर्ब ५९ करोड गरी कुल छ खर्ब ९० अर्ब २८ करोड रुपैयाँ खर्च भएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो नौ महिनाको अवधिमा सरकारको कर राजस्व छ खर्ब ३६ अर्ब ७० करोड र गैरकर राजस्व ४७ अर्ब १७ करोड गरी कुल राजस्व छ खर्ब ८३ अर्ब ८७ करोड परिचालन भएको छ । यो खर्चमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
विस्तृत मुद्रा प्रदाय १४ प्रतिशतले वृद्धि : विस्तृत मुद्रा प्रदाय बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा विस्तृत मुद्राप्रदाय १४ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय आठ दशमलव नौ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ चैत मसान्तमा विस्तृत मुद्राप्रदाय २३ दशमलव नौ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति अर्थात् विदेशी विनिमय मूल्यांकन नाफा, नोक्सान समायोजित रकम ४२ अर्ब ५४ करोड अर्थात् तीन दशमलव दुई प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ३६ अर्ब ६१ करोड अर्थात् तीन दशमलव सातले बढेको थियो ।
समीक्षा अवधिमा सञ्चित मुद्रा भने आठ दशमलव नौ प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा चार दशमलव चार प्रतिशतले घटेकोे थियो । वार्षिक विन्दुगत आधारमा २०७७ चैत मसान्तमा सञ्चित मुद्रा २० दशमलव आठ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाामाा कुल आन्तरिक कर्जा भने १६ दशमलव चार प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा नौ दशमलव एक प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ चैत मसान्तमा यस्तो कर्जा २१ दशमलव एक प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २१ दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १२ दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २१ दशमलव सात प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।