काठमाडौं ।
आइतबार कोरोना संक्रमित र मृत्यु हुनेको संख्या केही घटे पनि सोमबार भने ती दुवै पक्षमा फेरि वृद्धि भएको छ । यसले कोरोना संक्रमणको उच्च जोखिम कायमै रहेको पुष्टि गरेको छ । आइतबार निको हुनेको प्रतिशत पनि बढेको थियो भने सोमबार निको हुनेको प्रतिशत पनि घट्नपुगेको छ । यसले कोरोना संक्रमित निको हुनेभन्दा बढी नै रहेको देखाएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आइतबार निको हुनेको प्रतिशत ७४ दशमलव सात रहेकामा सोमबार घटेर ७४ दशमलव चारमा आइपुगेको छ ।
आइतबार कोरोना संक्रमितको संख्खा सात हजार तीन सय ६८ रहेकामा सोमबार बढेर नौ हजार दुई सय ४७ पुगेको छ । आइतबार देशभर जम्मा एक सय ४५ जनाको मात्र कोरोनाबाट मृत्यु भएकामा सोमबार भने दुई सय १४ जनाको मृत्यु भएको छ । सोमबारसम्म कोरोनाबाट नेपालमा पाँच हजार दुई सय १५ जनाको मृत्यु भएको सरकारी तथ्यांक सार्वजनिक गरिएको छ ।
नेपालमा सोमबारसम्म कोरोनाका सक्रिय संक्रमितको सख्या एक लाख १३ हजार चार सय ८० पुगेको छ । आइतबार यो संख्या एक लाख १० हजार दुई सय ६३ मात्र थियो । सोमबारसम्म काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार सात सय ७४ पुगेको छ ।
काठमाडौंमा २८ हजार पाँच सय २७ जना, भक्तपुरमा पाँच हजार ७६ जना र ललितपुरमा सात हजार एक सय ७१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिम रहेको छ ।
यसैबीच, सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार उक्त आदेश जारी गर्दै कोरोना भाइरसको संक्रमण भएको व्यक्ति उपचार नपाएर मर्ने अवस्था आउन नदिनका लागि कोभिडको उपचार हुने भनिएको कुनै पनि अस्पतालमा सघन उपचार कक्ष तथा भेन्टिलेटरको व्यवस्था गर्न भनेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता मनिषकुमार श्रेष्ठले आइतबार दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा उक्त आदेश जारी भएको हो ।
‘हरेक अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रा विशेषज्ञ पठाई उचित उपचारको व्यवस्था गर्नू, आईसीयू तथा भेन्टिलेसनको प्रयोग गर्नका लागि विशेषज्ञको व्यवस्था गर्नू’, आदेशमा भनिएको छ, ‘त्यतिकै थन्किएर रहेका आईसीयू तथा भेन्टिलेसन मेसिनहरुलाई चुस्त र दुरुस्त बनाई प्रयोगमा ल्याउनू ।’ नेपालको संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्न आदेशमा भनिएको छ ।