काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छिन् । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज)ले सोमबार आयोजना गरेको ‘कृषि यान्त्रिकीकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवादमा उनले कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको जानकारी दिइन् । कृषिप्रधान देशमा यो प्रतिशत निकै कम रहेको उनको भनाइ थियो ।
परम्परागत खेतीलाई आधुनिकीकरण र कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्नेमा उनले जोड दिइन् । साथै उनले कृषि मन्त्रालयले माटोको गुणस्तर मापनका लागि विद्युतीय नक्सा सार्वजनिक गरेको बताउँदै कृषि क्षेत्रमा यो एउटा क्रान्ति नै भएको दाबी गरिन् । ‘कुन माटोमा के तत्व छ, किसानले आफैं जानकारी लिएर खेतीपाती गर्दा उत्पादनमा पक्कै पनि वृद्धि हुनेछ । यो कुरालाई अगामी वजेट तथा नीति तथा कार्यक्रममा पनी समेटेर हामी अगाडि बढ्ने सोच बनाएका छौं’, उनले भनिन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्राविधिकको व्यवस्था गरिएको जानकारी दिँदै उनले कृषि ज्ञान केन्द्रसम्म प्राविधकहरू राख्ने मन्त्रालयले तयारी गरिरहेको बताइन् । ‘कृषिमा यान्त्रिकीकरण गरेर नै हरेक वस्तुमा आत्मनिर्भर हुने लक्ष्य रहेको छ, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण नगरेसम्म आत्मनिर्भर हुन सकिँदैनन् । यो कुरालाई हामी सबैले मनन गर्न आवश्यक छ’, उनले भनिन्, ‘एक पालिका एक नर्सरी’ नारा लिएर उत्पादनमा वृद्धि गर्ने नीति रहेको छ ।’ साथै उनले उच्चस्तरका सिकाइका लागि इजराइली प्रविधि नेपाल ल्याउने सम्झौता समेत बताइन् । कृषिमा यान्त्रिकीकरणका लागि निजी क्षेत्रको पनि ठूलो भूमिका रहेको उनको भनाइ थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा युवाहरू विदेशिने अवस्था रहेका कारण गाउँमा महिलाहरूले मात्र कृषि पेसा अगाडि बढाउँदै आएको भन्दै उनले अब महिलामैत्री कृषि औजारको अनुसन्धान गर्न आवश्यक रहेको समेत बताइन् ।
कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रिकीकरण गर्नुपर्ने बताए । उत्पादनमा वृद्धि गराउनका लागि यान्त्रिकीकरणमा जोड दिनुपर्ने भन्दै उनले उत्पादनसँगै त्यसको बजार व्यवस्थापन पनि जोड दिनुपर्ने बताए । यसैगरी नार्कका श्रीमत श्रेष्ठले नेपालमा कृषि प्रविधि र उपकरणको लामो इतिहास नरहेको बताए । कृषिबाट युवाहरू पलायन हुन थालेपछि प्रविधि र उपकरणमा ध्यान दिन थालेको उनको भनाइ छ ।
नेप्लिज सोसाइटी अफ एग्रीकल्चलरका इन्जिनियर देवराज निरौलाले कृषिसँग इन्जिनियरिङ जोडिएन भने त्यसको दिगो विकास गर्न नसकिने बताए । सरकारले कृषिमा किसान तथा उद्योगीहरूलाई विभिन्न औजार तथा यन्त्रहरू अनुदान तथा सहुलियतमा दिनेगरेको भए पनि त्यो कहाँ कसरी प्रयोग भइरहेको छ भन्ने कुराको लेखाजोखा हुनुपर्ने उनको भनाइ थियो ।