काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।
अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरूलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपुर्जालगायतका सामग्रीहरूको विनाझन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् ।
सोमबार भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा उनले एकातिर कोभिड–१९ बाट जोगिनुपर्ने र अर्कातिर प्रभावकारीरूपमा कार्यसम्पादन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरूलाई आग्रह समेत गरे ।
अर्थमन्त्री पौडेलले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिकरूपमा जानकारी गराउन पनि निर्देशन दिए । अर्थसचिव शिशिरकुमार ढुंगानाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीहरूको भन्सार जाँचपाससम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए ।
राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयहरूसँग समन्वय गरी चौबीसै घण्टा प्रभावकारीरूपमा काम गर्न निर्देशन दिए । कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसालले अत्यावश्यक वस्तुहरूको आपूर्तिलाई सहज बनाउन विभागले क्वीक रेस्पोन्स टिम बनाएर काम गरेको जानकारी दिएका थिए ।