काठमाडौं ।
नेपालमा पहिलो पटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरिएको छ । कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भइरहेको बेला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नास्ट) ले नयाँ सिलिन्डर निर्माण गरी परीक्षण गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर परीक्षणको शुभारम्भ गरेका थिए । अब नेपालले प्रेसर धान्नसक्ने सिलिन्डर उप्तादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नास्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको जानकारी दिए । उनका अनुसार सुरक्षाको अन्तिम उपाय अवलम्बन गर्न बाँकी छ, केही दिनमा सिलिन्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावसायिक उत्पादन गर्न अनुमति दिइनेछ ।
नेपालमा पाइने सिलिन्डरको न्यूनतम मूल्य करिब १५ हजार पर्नेछ भने नास्टको प्रविधि प्रयोग भएको सिलिन्डरको करिब १० हजारभन्दा कम मूल्य पर्नेछ । मन्त्री श्रेष्ठले नेपालका वैज्ञानिकको मिहिनेतको कारण कोभिड संक्रमण नियन्त्रण गर्न स्वाब कलेक्सन भ्यान, सानिटाइजर, धुन मिल्ने मास्क निर्माण गरेर कोभिड नियन्त्रणमा महत्वपूर्ण योगदान गरेको बताए । अब सिलिन्डर तयार गरेर कोरोना संक्रमितको प्राणवायु अक्सिजन भर्ने सिलिन्डर निर्माण गर्ने प्रविधिको सफल परीक्षण गरेर महत्वपूर्ण काम गरेको उनको भनाइ छ ।
अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभाव पूर्ति गर्न सरकार गम्भीररूपमा लाग्ने पनि उनले बताए । मन्त्री श्रेष्ठले नास्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको बताउँदै त्यसकोे लागि सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । यस्तै उनले ठूला अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताए ।
उनले भने, ‘विगतमा अस्पताल सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।’ अस्पताललाई आवश्यक पर्ने अक्सिजन अन्य निकायमा बढी खपत भएको कारण पनि समस्या बढेको उनको भनाइ थियो । अहिले सबै निकायबाट अक्सिजन सिलिन्डर ल्याइसकेकोले समस्याको समाधान हुँदै जाने उनले बताए ।
सफल परीक्षण भएको सिलिन्डर वैज्ञानिक शंकर ढकालको समूहले तयार गरेको हो । सो सिलिन्डरमा ग्यासको दबाब दुई सय २५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दबाब दुई सय ३५ बारसम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो । त्यसैले अन्तिम परीक्षण गर्न बाँकी रहेको प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले जानकारी दिए । नास्टका वैज्ञानिकका अनुसार नेपालमा यस्तो सिलिन्डर निर्माण हुनेगरेको छैन भने आयातित सिलिन्डरको गुणस्तर परीक्षण समेत हुनेगरेको छैन ।
नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताए । उनले नास्टले कोभिड नियन्त्रणका लागि महत्वपूर्ण काम गरिरहेको दाबी गर्दै भविष्यमा अन्य कार्य अघि बढाइने जानकारी दिए । अब नास्टलाई स्मार्ट नास्ट बनाउने गरी कार्ययोजना अघि बढाइएको उनको भनाइ थियो । विज्ञान सचिव डा. सञ्जय शर्माले विज्ञान नवप्रवर्तक नीतिलाई कार्यान्वयनमा ल्याउनसाथ प्रविधि क्षेत्रले ठूलो फड्को मार्ने बताए ।