काठमाडौं ।
शिवम् सिमेन्ट लिमिटेडले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको यस विषम परिस्थितिमा देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामग्री अभाव भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
कम्पनीले एक सय २० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी १ सय ९० थान अक्सिजनसहित ३० थान मेडिकल बेड, पाँच थान सीसीयू बेड तथा पाँच थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटर अस्पताललाई हस्तान्तरण गरेको जनाएको छ ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको बताएको छ । अक्सिजन सिलिण्डर, मेडिकल बेड, सीसीयू बेड मोनिटर इक्विपमेन्ट समेतको यी स्वास्थ्य सामग्रीबाट यस क्षेत्रका कोरोनाबाट प्रभावित सर्वसाधारण नागरिकलाई स्वास्थ्य उपचार गर्न सहयोग पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।
यस अगाडि पनि शिवम् सिमेन्ट्सले यस किसिमका महामारी, दैवी प्रकोप, राहत सामग्रीहरु, स्वास्थ्य सामग्री, एम्बुलेन्स हस्तान्तरणसहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आइरहेको जनाएको छ ।