ढाका ।
बंगलादेशले कोेभिड–१९ को नयाँ प्रकार (इन्डियन भेरिएन्ट) बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार मृत्यु भएको जनाएको छ ।
सरकारको संक्रामक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मंगलबार प्रकाशित गरेको तथ्यांकअनुसार मृतक संक्रमित व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए । बंगलादेशमा अहिलेसम्म छ व्यक्तिमा नयाँ प्रकारको संक्रमण पुष्टि भएको छ, जसमध्ये मृतक एक जना क्यान्सर र अन्य रोगबाट पीडित थिए ।
बंगलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको सुरुमा अत्यधिक संक्रामक कोरोनाभाइरसका दुई घटनाहरू पत्ता लागेका थिए । भारतमा कोभिड–१९ संक्रमणको उच्च वृद्धि भएपछि अप्रिल १४ देखि दुई देशबीचको यात्रुवाहक उडानहरूलाई पनि स्थगित गरिएको थियो ।
बंगलादेशमा सोमबार कोरोनाभाइरस महामारीबाट मृत्यु हुनेको सङ्ख्या ३२ रहेको थियो भने कोभिड–१९ का कारण संक्रमण पुष्टि भएका व्यक्तिको संख्या छ सय ९८ रहेको थियो । यससँगै अहिलेसम्म बंगलादेशमा कोभिड–१९ पुष्टि भएको संख्या सात लाख ८० हजार आठ सय ५९ पुगेको छ भने १२ हजार एक सय ८१ जनाको मृत्यु भएको छ ।