वेइजिङ ।
७० तलाभन्दा धेरै अग्लो एउटा भवन भएको सेग प्लाजा एक्कासि हल्लिएपछि किनमेल गर्न गएका मानिसहरुबीच भागाभाग भएको छ ।
बीबीसीका अनुसार दक्षिण चिनियाँ सहर शेन्जेनमा यस्तो घटना भएको हो । स्थानीय अधिकारीहरुले के कारणले मंगलबार दिउँसो सेग प्लाजा हल्लियो भन्ने पत्ता लगाउन सकेका छैनन् । यो प्लाजा भवन तीन सय मिटर अग्लो छ । उक्त समयमा कुनै भूकम्प पनि मापन नभएको बताइएको छ । यसबारे अधिकारीहरुले अनुसन्धान गरिरहेका छन् ।
यो भवन २० वर्ष पुरानो रहेको बताइएको छ । यहाँ विद्युतीय सामग्रीको बजार र विभिन्न कम्पनीका कार्यालयहरु रहेका छन् । यो शेन्जेनको मुटुमा छ । यो सहरमा एक करोड २० लाख मानिसको बसोबास छ भने किनमेल र प्रविधि उद्योगहरु पनि प्रशस्तै छन् । चिनियाँ सामाजिक सञ्जालमा भवन हल्लिएको भिडियो फुटेज भाइरल बनिरहेको छ ।
चीनको ग्लोबल टाइम्स पत्रिकाले यो घटनाबारे शेन्जेनको फुटियान जिल्लाको स्थानीय सरकारले सेग प्लाजा स्थानीय समयअनुसार १२ः३१ बजे हल्लिएको जानकारी भवनभित्रका कर्मचारीमार्फत पाएको उललेख गरेको छ । त्यसपछि २ बजेसम्ममा त्यहाँभित्रका सबै माानिसलाई भवनबाट उद्धार गरिएको पत्रिकाले उल्लेख गरेको छ ।
पछि स्थानीय सरकारले विज्ञप्ति जारी गर्दै अनुसन्धान गर्दा भवनवरिपरि समेत कुनै पनि भत्के चर्केको र बाहिरी पर्खाल पनि केही नभएको फेला परेको जनाएको थियो । यो भवन सन् २००० मा निर्माण पूरा भएको थियो । काउन्सिल अन टल बिल्डिंग्स एन्ड अर्बान हेबिट्याटका अनुसार सेग प्लाजा चीनको १०४औँ र विश्वको २१२औँ अग्लो भवन हो ।