काठमाडौं ।
नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए) ले कोभिड–१९ को महामारीले जनजीवन नै सङ्कटग्रस्त भई सयौँले ज्यान गुमाउनुपरेको अवस्थामा संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हक र खाद्यसम्बन्धी हकलाई निर्बाधरूपमा उपभोगका लागि अविलम्ब व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
वक्तव्यमार्फत संस्थाले स्वास्थ्य संकटकाल घोषणा गरी आफ्नो सम्पूर्ण ध्यान कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा केन्द्रित गर्न सकारसँग आग्रह गरेको छ । डीएलएका महासचिव लक्ष्मी दाहाल रावलले सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्धको खोपको लागि यथाशीघ्र उचित व्यवस्था मिलाउन, अस्थायी अस्पतालको समेत निर्माण गरी कोरोना संक्रमितको उपचारको लागि व्यवस्था मिलाउन तथा अस्पतालमा अक्सिजन, भेन्टिलेटर, खोप तथा आवश्यक औषधिको सहजताको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहल गर्नुपर्छ भने ।
डीएलएले नागरिकको जिउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानुनको शासन, मौलिक हकको कार्यान्वयन गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न आग्रह गरेको छ । यस्तै संक्रमित तथा संक्रमणको त्रासमा रहेका नागरिकको लागि मनोसामाजिक परामर्श तथा जनचेतनात्मक कार्यक्रमहरू ल्याउनुपर्ने, संक्रमण प्रभावित न्यून आय भएका, गरिब तथा असहाय, मजदुर, किसान, श्रमिकहरूको स्वास्थ्य तथा सामाजिक सुरक्षाको लागि विशेष राहत कार्यक्रम ल्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमणको अवधि अनिश्चितरूपमा रहने भएकोले यस अवधिमा नागरिकहरूले दैनिक जीवनमा व्यहोर्नुपरेको असहज परिस्थितिलाई सहज, सरल र सामान्य बनाउनको लागि दीर्घकालीन तथा अल्पकालीन योजनाका साथ तत्काल कानुन निर्माण गर्नुपर्ने संस्थाको सुझाव छ ।
डीएलएले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा सीमित साधन र स्रोतका बाबजुद पनि उच्च मनोबलका साथ खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, न्यायकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवकलगायत प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सम्लग्न रहेका सबैप्रति सम्मान गरेको छ ।