काठमाडौं ।
राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । बिहीबार भएको मतदानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल समूहका उम्मेदवार डा. देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापा मगरले चार हजार १४ मतभार प्राप्त गरेका थिए ।
थापालाई एमालेका मतदाताले मत नदिएपछि पराजित भएका हुन् । वाग्मती प्रदेशमा नेकपा एमालेको एकल बहुमत छ । तर, पार्टीमा विवाद भएको कारण मत विभाजन भएको हो । पार्टीका उम्मेदवारविरुद्ध मतदान गर्नेलाई कारबाही गर्ने एमालेले संकेत गरेको छ । बिहीबार बसेको एमाले स्थायी समिति बैठकले कारबाही गर्ने संकेत गरेको छ । निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले एक सय ३२ मतभार प्राप्त गरेका थिए ।
निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ एक सय पाँच र स्थानीय तहतर्फ दुई सय ३३ गरी तीन सय ३८ जनाले मतदान गरेका थिए । निर्वाचनमा प्रदेशसभा सदस्य एक सय १० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरी तीन सय ४८ मतदाता थिए । निर्वाचनमा कोरोना भाइरस संक्रमित २५ मतदाताले पनि भाग लिएका थिए । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ छ ।