काठमाडौं ।
सरकारले कोभिड–१९ विरुद्धको खोपलगायतका औषधि तथा स्वास्थ्य उपकरण सिधै खरिद गर्ने भएको छ । नेपालमा कोरोना महामारीको रुपमा फैलिए पनि यसको रोकथाम तथा नियन्त्रण गर्न आवश्यक पर्ने औषधिहरु प्रचलित कानुनले छिटो खरिद गर्न नदिने भएकाले सरकारले अध्यादेश ल्याएर औषधि तथा स्वास्थ्य उपकरण सिधै खरिद गर्नलागेको हो ।
खोप तथा अन्य औषधि र उपकरण खरिदमा प्रचलित कानुनबमोजिमका प्रक्रिया अवलम्बन गर्दा कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारमा बाधा पर्ने वा मानिसको जिउ ज्यान जोखिममा पर्ने भएकाले अध्यादेश ल्याइएको सरकारले दाबी गरेको छ । उक्त अध्यादेशअनुसार तत्काल आवश्यक पर्ने औषधि, अक्सिजन, स्वास्थ्य सामग्री, उपकरण वा खोप उत्पादक, वितरक, आधिकारिक बिक्रेता वा अन्तर्राष्ट्रिय संस्थासँग सोझै खरिद गर्न सकिने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
ती अधिकारीका अनुसार अहिले देशभरबाट खोपको अत्यधिक माग भएको छ । ती अधिकारीका अनुसार अनलाइनबाट खोप माग गरेर फर्म भर्नेको संख्या लाखौं पुगेको कारण सरकारले अध्यादेशको व्यवस्थाअनुसार खोप खरिद गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २१ लाख १३ हजार ८० ले कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या पाँच लाख १४ हजार दुई सय ५३ पुगेको छ ।
सार्वजनिक खरिद ऐनभन्दा बाहिर गएर खरिद गर्दा छिटो खरिद गर्न सकिने र यसले मानिसको ज्यान जोगाउन सकिने भएकाले अध्यादेश ल्याइएको ती अधिकारीको भनाइ छ । उनका अनुसार अध्यादेशको व्यवस्थाअनुसार खरिद गर्दा चाँडो खरिद गर्न सकिने र मागअनुसार सबै नेपालीलाई छिट्टै खोप लगाउन पाइन्छ । खोप लगाएका अधिकांश मानिसहरुमा दोहो-याएर कोभिड नहुने र यदि दोहो¥याएर कोभिड भए पनि जटिल समस्या नदेखिई निको हुने देखिएको कारण खोप लगाउन आम नागरिकले चासो दिनथालेका हुन् ।
सरकारले अहिले भारत र चीनबाट ल्याएर खोप लगाएको छ । भारतबाट ल्याइएको खोप कतिपयले पहिलो डोज मात्र लगाएका छन् । दोस्रो डोज लगाउन पाएका छैनन् । चीनबाट ल्याइएको खोप भने अहिले दोस्रो डोज लगाउने कार्य जारी छ । पहिलो पटक लगाएकालाई दोस्रो डोज लगाएपछि बाँकी खोप फेरि अहिलेसम्म खोप नलगाइएका व्यक्तिहरुलाई सुरु गरिने र यही बेला खरिद गर्ने प्रक्रिया अगाडि बढेको कारण चाँडै सबै नेपालीले खोप लगाउने अवसर पाउने स्वास्थ्यका ती अधिकारीको भनाइ छ ।
अध्यादेशका अनुसार कोभिड–१९ विरुद्धको औषधि, अक्सिजन, स्वास्थ्य सामग्री, उपकरण वा खोप मुलुकभित्र पर्याप्त मात्रामा उपलब्ध हुन नसक्ने भएमा अधिकारप्राप्त अधिकारीले आफैँ वा विदेशस्थित नेपाली कूटनीतिक नियोगमार्फत सोझै खरिद गर्न पाइनेछ । तर, सोझै खरिद गर्ने त्यस्ता औषधि र औषधिजन्य सामग्रीको स्पेसिफिकेसन र दररेट नेपाल सरकारले स्वीकृत गर्नुपर्नेछ । त्यसरी औषधि र औषधिजन्य सामग्री खरिद गर्दा प्रचलित कानुनबमोजिम खरिद गुरुयोजना वा वार्षिक खरिद योजना बनाउन आवश्यक पर्नेछैन । सोही कारण अक्सिजन, खोपलगायतका अत्यावश्यक सामग्रीहरु खरिद गरेकै दिन वा त्यसको एक/दुई दिनभित्रै नेपाल ल्याउन सकिने छ । त्यही भएर अध्यादेश ल्याइएको सरकारले दाबी गरेको छ ।
यसरी सिधै खरिद गर्ने अधिकार अध्यादेशले प्रदेश र स्थानीय सरकारलाई पनि दिएको छ । तर, स्पेसिफिकेसन र मूल्य भने नेपाल सरकारले तोकेको दररेटअनुसार मात्र हुनेछ । प्रदेश र स्थानीय सरकारले आफूखुसी जुन पायो त्यही औषधि र जति पायो त्यति मूल्य तिर्न पाउनेछैन । औषधि, खोप र अन्य स्वास्थ्य सामग्री सिधै खरिद गर्नका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य सेवाको कम्तीमा एघारौँ तहको अधिकृत रहने गरी एक छुट्टै खरिद इकाइ रहने अध्यादेशमा व्यवस्था गरिएको छ । यसले सिधै खरिदमा हुने अनियमितताको आशंकालाई चिर्नेछ ।
सरकारले कोभिड–१९ संक्रमणको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि एउटा छुट्टै कोष स्थापना गर्ने व्यवस्था पनि गरेको छ । उक्त कोषमा नेपाल सरकारबाट प्राप्त रकम, कुनै संघ/संस्था वा व्यक्तिबाट पाउने दान, दातव्य वा उपहारस्वरुप प्राप्त हुने रकम, विदेशी सरकार, व्यक्ति वा अन्तर्राष्ट्रिय संघ/संस्थाबाट सहयोग, अनुदान वा ऋणस्वरुप प्राप्त रकमको साथै अन्य कुनै स्रोतबाट प्राप्त रकम पनि त्यही कोषमा राखेर खर्च गर्ने व्यवस्था यही जेठ ६ गते बिहीबार जारी ‘कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८’मार्फत गरेको छ ।
कोभिड पुष्टि हुने र निको हुने करिब बराबर
शनिबार कोडिभ–१९ संक्रमित हुने र निको हुनेको संख्या करिब बराबरजस्तै देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार आठ हजार नौ सय ८० मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो भने आठ हजार आठ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार १९ हजार तीन सय ५७ को पीसीआर तथा सात सय ४८ को एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार पाँच सय ९१ र तीन सय ८९ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सङ्क्रमितको कुल संख्या पाँच लाख पाँच हजार छ सय ४३ पुगेको छ । हालसम्म २८ लाख ९७ हजार पाँच सय तीनको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
शनिबारसहित हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ८३ हजार छ सय ८४ पुगेको छ । कारोना निको भएको दर ७५ दशमलव ८ प्रतिशत छ । यस्तै गत २४ घण्टामा थप एक सय २९ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या छ हजार एक सय ५३ पुगेको छ । शनिबारसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार सात सय ४० छ ।