बाँके ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमित बिरामी र कुरुवालाई २० रुपैयाँमै खाना उपलब्ध भएपछि राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक २० रुपैयाँमा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको हो ।
अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोइका नामबाट साँझ–बिहान खाना खुवाउन सुरु गरेको हो । बिहानको छाक मात्रै २० रुपैयाँमा खुवाउँदै आएकोमा निषेधाज्ञाका कारण अस्पताल परिसरका होटल बन्द भएकाले अस्पतालमा आउने बिरामी तथा कुरुवालाई साँझको पनि खाना खुवाउन सुरु गरिएको सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाले मासिक ५० हजार रुपैयाँ सहयोग गर्न थालेपछि रसोइले गत कात्तिकदेखि भेरी अस्पतालमा बिरामी र कुरुवाका लागि लक्षित गरेर २० रुपैयाँमा बिहानको खाना खुवाउन सुरु गरेको थियोे । पछिल्लो समय कोभिड–१९ को संक्रमण फेरि बढ्न थालेपछि बेलुकाको खानासमेत खुवाउन थालिएको होे । अञ्जनी माता रसोइको अनुरोधपछि नेपालगञ्ज उपमहानगरले पछिल्लो समय मासिक एक लाख रुपैयाँ उपलब्ध गराउन थालेको छ ।
उपमहानगरपालिकाले सहयोग बढाएको र अन्य सहयोगी मनहरूबाट पनि सहयोग उपलब्ध हुन थालेपछि रसोइमा गतमङ्गलबारदेखि बेलुकाको खाना समेत २० रुपैयाँमा उपलब्ध गराउन थालिएको छ । यसअघि बिहानको खाना २० रुपैयाँ र बेलुकाको खाना ८० रुपैयाँ प्रतिछाक रहेको थियो । कोभिड–१९ का बिरामीको उपचार केन्द्र बनेको भेरी अस्पतालमा पश्चिम नेपालका विभिन्न जिल्लाबाट दैनिक सयौँ व्यक्ति उपचारका लागि आउने गरेका छन् ।
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले पनि यही रसोइमा खाना खाने गरेका छन् । खाना खान आउनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । दैनिक चार सय जनालाई खाना खुवाउन सक्नेगरी व्यवस्थापन मिलाइएको छ । खानामा दाल, भात, तरकारी दिनेगरिएको छ । बिरामीका लागि बोतलको पानी समेत उपलब्ध गराइन्छ । सस्तोमा स्तरीय खानासँगै सरसफाइमा समेत विशेष ध्यान दिइएको व्यवस्थापक जितेन्द्रबहादुर सिंहले बताए ।
अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवालाई २० रुपैयाँमा राम्रो खाना खुवाउनु सामाजिक कार्य भएको भन्दै यसमा स्थानीय सरकारबाट सक्दो सहयोग गरिएको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले बताए । अभियानमा उपमहानगरपालिकासहित विभिन्न मनकारी संघसंस्था र व्यक्तिले नगद तथा खाद्यान्न सहयोग गर्दै आएको मित्र मण्डलका प्रवक्ता विमल चन्दले जानकारी दिए ।