काठमाडौं ।
कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन अमेरिका र स्विट्जरल्याण्डले नेपाल सरकारलाई विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् । महामारीविरुद्ध खोप, जीवन रक्षक औषधि, उपकरणलगायत सहायताका निम्ति वर्तमान सरकारले गरेको आग्रहअनुरूप ती देशले सहायता सामग्री परिचालन गरेका हुन् । अमेरिकी र स्विस सरकारले विशेष विमानबाट पठाएका ती सामग्री सम्बद्ध अधिकारीहरूले नेपाल सरकारलाई शनिबार हस्तान्तरण गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कार्यक्रममा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिसावेथ भोन क्याप्लरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई ११ लाख थान एन्टिजेन टेष्ट किट, १० थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान अक्सिजन नेजल क्यानुला, ४० वटा भेन्टिलेटर, एक लाख १० हजारवटा केएन ९५ मास्क, ५० हजार वटा पञ्जा, १५ हजार थान व्यक्तिगत सुरक्षा उपकरण, १२० वटा मास्क फर हमिल्टन टीआई, १४० थान सर्किट भल्भ फर हमिल्टन टीआई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री त्रिपाठीले मित्रवत् स्विस सरकार र जनताको उदार सहायताप्रति कृतज्ञता ज्ञापन गर्दै प्राप्त सहयोग संक्रमण नियन्त्रण, जीवन रक्षा तथा कोरोना जीवाणुविरुद्धको नेपाल सरकारको लडाइँमा उपयोगी हुने विश्वास व्यक्त गरे । उनले समयमै सहायता सामग्री उपलब्ध गराउन यहाँस्थित स्विस दूतावासले निर्वाह गरेको भूमिकाको सह्राहना गरेका थिए ।
यसैगरी अमेरिकाबाट प्राप्त सहायता सामग्री अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी) र यहाँस्थित अमेरिकी राजदूतावासका अधिकारीहरूले संयुक्त रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई हस्तान्तरण गरेको उक्त मन्त्रालयले जनाएको छ । अमेरिकी सहायताको यो पहिलो खेप हो । मालवाहक अमेरिकी विमानबाट सहायताका अरु दुई खेप नेपाललाई प्राप्त हुने र यो सहयोग यूएसएआईडीमार्फत यसअघि अमेरिकाबाट प्राप्त अतिरिक्त सहायता भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्राप्त सहायता सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा, सय थान भेन्टिलेटर, कोरोना जीवाणु परीक्षण गर्ने उपकरण, एक हजार थान अक्सिजन सिलिण्डर, चिकित्सा अक्सिजन प्रयोगका निम्ति आवश्यक पर्ने अन्य वस्तु छन् । अमेरिकी सरकारले उदात्त भावनाका साथ गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सरकारले त्यसबाट दुई देशबीचको लामो समयदेखिको मैत्री प्रतिविम्बित भएको बताएको छ ।