अनिल नेपाली
अर्घाखाँची, माघ ३
पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभाका सदस्य टोप बहादुर रायमाझीले आर्थिक समृद्धिको आधार कृषि र पशुपालन भएकोले कृषिको बजारीकरण र औद्योगीकरणमा लाग्नुपर्ने बताएका छन् । बुधबार सन्धिखर्कको त्रिवेणीधाममा अर्घाखाँची उद्योग वाणिज्य संघले आयोजना गरेको माघे संक्रान्ति मेला २०७६ बृहत कृषि, पशुपन्छी तथा औद्यौगिक प्रविधि प्रदर्शनी मेला एवं विविध सांस्कृतिक कार्यक्रको उद्घाटन गदै प्रतिनिधिसभा सदस्य रायमाझीले यस्तो बताएका हुन् । नेकपाका नेता समेत रहेका नेता रायमाझीले देशमा राजनीतिक क्रान्ति पूरा भई मुलुक विकासको नयाँ मोडलअनुसार अगाडि बढेको बताउँदै शिक्षा, स्वास्थ्य र रोजगारीलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउँदै जिल्लाको विकासमा १० देखि १५ वर्षको अन्तरालमा जनताले देख्ने गरी विकास भएको बताउँदै बेरोजगारी अन्त्य गर्नको लागि सरकारका लागि परेकोे बताएका थिए ।
एक फरक प्रसँगमा कुरा गर्दै सालझण्डी ढोरपाटन सन्धिखर्क गोरुसिङ्गे मदन भण्डारी राजमार्ग गच्छे बालुबाङ्गलगायतका मोटरबाटो छिट्टै पिच हुने बताएका थिए । कार्यक्रममा राष्ट्रियसभाका सदस्य चन्द्र बहादुर खड्का उज्ज्वल प्रदेश सांसद रामजी प्रसाद घिमिरे निर्मला क्षेत्री सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम ब. जि.सी लेकालीलगायतका वक्ताले सहकारीको माध्यममा कृषि पर्यटन पशुपालनका क्षेत्रमा सरकारले पहलकदमी लिनुपर्ने बताएका थिए । कार्यक्रममा उत्तम कृषकलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता उपाध्यक्ष नेत्रप्रसाद भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।