काठमाडौं, माघ ३
ज्योति विकास बैंकअन्तगर्तको ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारको रूपमा जीएमई रेमिट नियुक्त भएको छ । रेमिट सेवालाई ग्राहकवर्गको लागि अझ सहज बनाउने हेतुको साथ ज्योति विकास बैंकले उक्त साझेदारी गरेको हो । सम्झौतामा बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशिलकुमार शर्मा तथा जीएमई रेमिटको तर्फबाट जीएमई रेमिटका सीओओ प्रमोदसिंह बस्नेतले हस्ताक्षर गरेका हुुन् । सम्झौतापश्चात् ज्योति रेमिटबाट पठाइएको रकमलाई नेपालभरि जीएमईका कुनै पनि एजेन्ट बाट भुक्तानी लिन सकिनेछ । जीएमईको नेपालभर रहेका सात हजार पाँच सयभन्दा बढी भुक्तानी प्रतिनिधि तथा उपप्रतिनिधिहरूमार्फत ज्योति रेमिटको सेवा ग्राहकवर्गहरूले प्राप्त गर्नेछन् ।
हाल ज्योति विकास बैंकले एक सय दुुईवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले चालू आर्थिक वर्षभित्रमा नै थप नयाँ शाखाहरू सञ्चालनमा ल्याउने तयारी गरेको छ । यसैगरी चालू आवभित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले दुुई लाख ४० हजारभन्दा बढी खाताबाट ३३ अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई २८ अर्ब रूपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ ।