काठमाडौं, माघ ३
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेको सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड नियुुक्त भएको छ । बैंकले एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी जारी गर्ने आठ अर्ब रूपैयाँ बराबरको आठ करोड कित्ता साधारण सेयर सर्वसाधारणहरूमा निष्काशन गर्नको लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सो सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा नेपाल इन्फ्रास्ट्रक्चरका तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र एनआईबीएल एस क्यापिटलकातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले गर्न लागेको यो सार्वजनिक निष्काशन हालसम्मकै देशकै ठूलो सार्वजनिक निष्काशन हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अधिकृत पूँजी ४० अर्ब, जारीपुँजी २० अर्ब र चुक्तापुँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरूलाई सेयर निष्काशन गरी बाँडफाँट गरेपश्चात् बैंकको चुक्ता पुँजी २० अर्ब रूपैयाँ हुुनेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५/२/२५ मा पब्लिक लिमिटेड कम्पनीको रूपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको हो । बैंकले २०७५/१०/२८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा कार्य गर्न स्वीकृति प्राप्त गरी २०७५/११/२२ गतेदेखि आफ्नो बैंकिङ कारोबार शुुभारम्भ गरेको हो । बैंकको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. १० नयाँ बानेश्वर, काठमाडौँमा रहेको छ ।
मुलुकभित्र तथा मुलुकबाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरूमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकसँग जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरूमा स्रोत लगानी गर्दै जाने योजना रहेको छ ।