काठमाडौं ।
विश्व बैंकले नेपालको लागि शैक्षिक क्षेत्र सुधारमा छ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । विश्व बैंक समूहको शुुक्रबार बसेको कार्यकारी निर्देशकहरुको बैठकले नेपालमा उच्च शिक्षाको सुधार, विद्यालयको क्षमता एवं पूर्वाधार विस्तार, अनलाइन शिक्षा आदिको सुधारको लागि झण्डै सात अर्बबराबरको नेपाली रुपैयाँ सहयोगको घोषणा गरेको हो ।
विश्व बैंकका अनुसार उक्त रकमबाट नेपालको बालशिक्षाको पोषण, विद्यार्थीहरुको स्वास्थ्य एवं कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुको सहयोगको लागि खर्च गरिनेछ । नेपाललाई प्रदान गरिने यो सहयोगले नेपालको शैक्षिक क्षेत्रको सुधारमा निकै धेरै काम हुुने अपेक्षा गरेको जानकारी पनि विश्व बैंकले दिएको छ।
सहयोग कार्यक्रमको मुख्य प्राथमिकता कोभिड–१९ का कारण आर्थिक कठिनाइको सामना गरिरहेका र पिछडिएका विद्यार्थीहरूको समावेशीकरणलाई प्रोत्साहित गर्नु रहेको विश्व बैंकको कार्यक्रम टास्क टिमका प्रमुख मोहन अर्यालले जानकारी दिए । उनले भनेका छन्, ‘यो कार्यक्रमले पिछडिएका विद्यार्थीहरुलाई लक्षित छात्रवृत्ति बढाउन र श्रम बजारमुखी शैक्षिक कार्यक्रम बनाउन सहयोग गर्नेछ ।’