काठमाडौं ।
महामारीकै अवधिमा पनि बैंक तथा फाइनान्स कम्पनीहरुमा निक्षेप तथा कर्जा बढेको देखिएको छ । सरकारले कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको भन्दै वैशाखको तेस्रो हप्तादेखि नै काठमाडौं उपत्यकासहित ७५ वटा जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ ।
यो निषेधाज्ञा अहिले पनि जारी छ । तर यही बीचमा पनि बैंकिङ क्षेत्रको निक्षेप भने बढेको देखिएको छ । पछिल्लो समय सरकारले संक्रमण बढेको भन्दै काठमाडौंं उपत्यकाअन्तर्गत काठमाडौं जिल्लाको हकमा वाणिज्य बैंकहरुको तीनवटा, विकास बैंकहरुको दुईवटा र फाइनान्सहरुको एउटा मात्र शाखा खोल्न अनुमति दिएको छ । यसैगरी ललितपुर जिल्लाको हकमा वाणिज्य बैंकहरुको दुई वटा विकास बैंकहरुको एउटा र फाइनान्स कम्पनीहरुको पनि एउटा, एउटा मात्र शाखा खोल्न अनुमति दिएको छ । भक्तपुर जिल्लाको हकमा पनि वाणिज्य बैंकहरुको एउटा विकास बैंकहरुको एउटा र फाइनान्स कम्पनीहरुको पनि एउटा, एउटा मात्र शाखा खोल्न अनुमति दिएको छ । ‘यही अवस्थामा पनि बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा रकम दुवै बढ्नु भनेको अर्थतन्त्र केही हदसम्म चलायमान भएको देखिनु हो’, राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ४४ खर्ब ६४ अर्ब ६१ करोड ७० लाख रुपैयाँ रहेको थियो । उक्त निक्षेपमध्ये २७ वटा वाणिज्य बैंकहरुमा मात्र ३९ खर्ब ४५ अर्ब ५४ करोड ७० लाख रुपैयाँ निक्षेप रहेको थियो भने १८ वटा विकास बैंकहरुमा चार खर्ब १६ अर्ब ४६ करोड रुपैयाँ निक्षेप रहेको थियो । यसैगरी उक्त अवधिमा २० वटा फाइनान्स कम्पनीहरुमा भने यस्तो निक्षेप एक खर्ब दुई अर्ब ६० करोड नौ लाख रुपैयाँ रहेको थियो । उक्त अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम भने ४० खर्ब २१ अर्ब २२ करोड ७० लाख रुपैयाँ रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरुमा ३५ खर्ब ६८ अर्ब ६६ करोड २० लाख रुपैयाँ कर्जा रहेको थियो भने विकास बैंकहरुमा तीन खर्ब ६७ अर्ब ९० करोड २० लाख रुपैयाँ कर्जा रहेको थियो । यसैगरी उक्त अवधिमा फाइनान्स कम्पनीहरुमा भने कुल कर्जा रकम ८४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार जेठको पहिलो हप्तासम्म आइपुग्दा भने निषेधाज्ञाकै अवधिमा पनि बैंकिङ क्षेत्रको निक्षेप चैतदेखि यता ३१ अर्ब रुपैयाँले बढेको छ । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ४४ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको मात्र निक्षेप ३९ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप पाँच खर्ब १५ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम पनि बढेर ४० खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको मात्र कुल कर्जा रकम ३६ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम चार खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ४४ खर्ब ६४ अर्ब ६१ करोड रुपैयाँको हाराहारीमा रहेको थियो भने कुल कर्जा रकम ४० खर्ब २१ अर्ब २२ करोड रुपैयाँको हाराहारीमा रहेको थियो ।