दोलखा ।
लामो समयदेखि भएको निषेधाज्ञाका कारण भोकै रहेका कुकुरहरुलाई यहाँका युवाहरुले खाना खुवाउन थालेका छन् । कुकुरहरु भोकको कारण मान्छेहरुमाथि जाइलाग्न, कराउन थालेपछि युवाहरुले उनीलाई दैनिक खाना खुवाउने व्यवस्था मिलाएका हुन् ।
बजार खुला हुँदा व्यापारीले फालेको सढेगलेका खानेकुरा खाएर भोको पेट भर्ने चरीकोट बजारका छाडा कुकुर अहिले निषेधाज्ञामा कडाइ हुँदा भोकले छट्पटिन लागेको देखेर दिनमा तीन पटक खाना खुवाउन सुरु गरेको उनीहरुले बताए । मंगलबारदेखि चरीकोट बजार स्थानीय युवा राजु केसी र राजन बस्नेत र अभयपुर युवा क्लबको समूहले कुकुरलाई खाना खुवाउन सुरु गरेका हुन् ।
जिल्ला प्रशासनले गरेको निषेधाज्ञाका कारण केही खान नपाएका कुकुरहरु भोकले छट्पटी गर्दै बजारमा मानिसलाई टोक्न खोज्ने, झम्टिन थाल्ने गरेपछि पशुअधिकारको रक्षा गर्दै खाना खुवाउन थालेको केसीले बताए ।
निषेधाज्ञा खुकुलो नहुँदासम्म निरन्तर दैनिक कुकुरहरुलाई खोजी–खोजी खाना खुवाउने उनले बताए । युवाहरूले चरीकोट बजार, दोलखा बजारलगायतका स्थलमा रहेका करिब ६५ वटा कुकुरलाई खाना खाजा खुवाउँदै आएका छन् । उनीहरुले कुकुरलाई बिहान दुध बिस्कुट, दिउँसो मासुभात र बेलुका खाना दिने गरेका हुन् ।