काभ्रेपलाञ्चोक ।
बीपी राजमार्ग उपआयोजनाद्वारा सडकखण्डमा व्यवस्थित गरिएको आकस्मिक सूचनाप्रणाली (ईआईएस) प्रविधि छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । करिब छ वर्षअघि विपी राजमार्ग (धुलिखेल –सिन्धुली –बर्दिबास) अन्तर्गत प्रवेशस्थल धुलिखेलमा राखिएको डिजिटल सूचना बोर्डमा पनि उपआयोजनाले मौसमअनुसारको सूचना अद्यावधिक गर्न सकेको छैन । राजमार्गको तत्कालिक अवस्थाबारे जानकारी दिने उद्देश्यले धुलिखेललगायतका स्थानमा बोर्ड राखिएको थियो ।
सडक विभागले उक्त राजमार्गको आकस्मिक सूचना प्रणाली प्रविधिलाई निरन्तरता दिन नसकेको जनाएको छ । विभागका उपमहानिर्देशक एवं वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलले सडक निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्रणालीको विकास गरेको तर केही समयपश्चात् सो प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको बताए । ‘पछिल्ला केही वर्षदेखि उक्त योजना निरन्तर सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव तथा कोरोनाका कारण सकिएन, अब के कसरी गर्न सकिन्छ छलफल गर्नेछौँ’, उनले भने ।
उक्त सडकको यात्रा सहज बनाउन आकस्मिक सूचना प्रविधियुक्त राजमार्ग बनाउन लागिएको थियो । राजमार्गको अवस्थाबारे मोबाइल तथा वेबसाइटमा जानकारी लिनसक्ने गरी छ वर्षअघि उक्त प्रविधि जडान गर्न सडकखण्डको विभिन्न स्थानमा सूचनाप्रविधिका भौतिक पूर्वाधारलगायत संरचना निर्माण तथा व्यवस्थापन गरिएको थियो । यतिमात्र होइन, वेबसाइट र सडकमा रहेका इलेक्ट्रिकल बोर्डका सूचना हेरेर पनि यात्रा तय गर्न सकिने योजनासमेत बनाइएको थियो । त्यसबेला राजमार्ग सञ्चालन तथा मर्मतसम्भारका लागि स्थापित उपआयोजनाले यस्तो प्रणालीको विकास गरेको थियो ।
राजमार्गमा वर्षा, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेबसाइटमा जानकारी आउने व्यबस्था मिलाइने योजना बनाइएको थियो । यही जानकारी राजमार्गको वेबसाइट तथा कोटेश्वर, धुलिखेल र बर्दिबासमा रहने सूचना बोर्डमा समेत हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो ।
तीनै स्थानमा डिजिटल सूचना बोर्ड पनि राखिएको छ । ती बोर्डमा हाल पनि सामान्य सूचनाबाहेक सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दुर्घटनाबारे कुनैपनि जानकारी हुँदैन । एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेसनसहित वेबसाइट र ईआईएसलाई इन्जिनियरिङ सफ्टवेयर कम्पनी सफ्टवेल प्रालिले ‘प्रणाली’समेत तयार पारिसकेको जनाइएको थियो । यो मार्गलाई नेपालकै नमूना बनाउन यस्तो प्रणालीको विकास गरिएको आयोजनाले बताउँदै आएको छ ।
यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिष्टम’ले निरन्तर रूपमा वर्षात्को मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ । यस्तो केन्द्र काठमाडौं थापाथलीस्थित उपआयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालयहरू र सिन्धुली जिल्ला विकास समितिमा रहने व्यवस्था गरिएको आयोजनाले जनाएको थियो ।
उक्त प्रणालीअन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरणहरू जीपीआरएस मोडेममार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ । यी विबरणहरू एलइडी डिस्प्लेयुक्त बोर्डहरूमा नेपाली र अङ्गे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । चौबीसै घण्टा विवरण अपडेटमा लोडसेडिङले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति (सोलार)मार्फत विद्युत आपूर्ति हुने व्यबस्थासमेत मिलाइएको थियो ।
प्रमुख पोखरेलले तत्काल यसबारे सरोकारवालासँग ‘जूम मिटिङ’मार्फत छलफल गरी रोकिएको काम अघि बढाइने बताए । उनले भने, ‘यस्तो प्रणालीले राजमार्गको अवस्था तथा आकस्मिक घटनामा तत्काल उद्धार गर्न सकिने संयन्त्र निर्माण भएको थियो ।’ उनका अनुसार हाल सडक विस्तारका क्रममा कोटेश्वरस्थित सूचना बोर्डको पुनः निर्माण हुनेछ ।
यो वर्ष मनसुन निकै सक्रिय हुने जनाइएको छ । भारी वर्षाको सम्भावना रहेको जनाइएपछि उक्त प्रणालीमार्फत बीपी राजमार्ग सडकको अवस्थाबारे तत्काल यात्रुलगायत सरोकारवालाले जानकारी पाउनसके सहज हुने अपेक्षा गरिँदै आइन्छ । उक्त राजमार्ग हाल सङ्घीय राजधानीबाट पूर्वी तराईसँग जोड्ने छोटो दूरीको रूपमा लिइएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलबाट वि.सं. २०५४ सालदेखि बनेपा–सिन्धुली बर्दिबास एक सय ६० किलोमिटर सडक विस्तार गरिएको थियो ।