काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकका अनुसार एक हजार रुपैयाँ अंकित मूल्य कायम रहनेगरी सात लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागिएको हो । सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नाम दिएको उक्त ऋणपत्रमध्येमा ३० करोड रुपैयाँबराबरको तीन लाख कित्ता सर्वसाधारणलाई र बाँकी रहेको ४५ करोड रुपैयाँबराबरको चार लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।
वार्षिक नौ प्रतिशत ब्याजदर कायम गरिएको ऋणपत्रको परिपक्व हुुने अवधि भने १० वर्ष रहेको छ । एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत यही असार छ गतेबाट खुला हुने ऋणपत्रको बिक्रीकार्य छिटोमा असार ९ गते र ढिलोमा यही असार २० गते बन्द हुुनेछ । बैंकका अनुसार लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम तीन लाख कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३५ करोड १६ लाख ७४ हजार छ सय ६१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा २२ करोड ४४ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी दुुई अर्ब ६० करोड ६६ लाख ४० हजार चार सय रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ४० अर्ब ४८ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ३७ करोड ३४ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८४ करोड ८९ लाख २७ हजार रुपैयाँ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैैंकमा एक दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव १३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा २४ करोड २८ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले २८ अर्ब १३ करोड २६ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ९३ करोड ४३ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८२ करोड १३ लाख सात हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८८ प्रतिशत रहेको थियो ।