काठमाडौं ।
नेपाल राष्ट्र बैंकले एक तिहाइ कर्मचारी राखेर वित्तीय सेवा सञ्चालन गर्न बैंक तथा फाइनान्स कम्पनीहरुलाई निर्देशन दिएको छ । सोमबार बैंक तथा वित्तीय संस्थाको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
यसअघि गत जेठ १० गते राष्ट्र बैंकले परिपत्र जारी गर्दै काठमाडौ उपत्यकाअन्तर्गत काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा तीनवटा, विकास बैंकहरुको हकमा दुईवटा र फाइनान्स कम्पनीहरुको हकमा एउटा शाखा खोलेर वित्तीय सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । यसैगरी ललितपुर जिल्लाको हकमा वाणिज्य बैंकतर्फ दुईवटा, विकास बैंकतर्फ एउटा र फाइनान्सको हकमा एउटा शाखा खोलेर वित्तीय सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो भने भक्तपुर जिल्लाको हकमा वाणिज्य बैंकतर्फ एउटा, विकास बैंकतर्फ एउटा र फाइनान्सको तर्फबाट पनि एउटा शाखा खोलेर वित्तीय सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । तर अहिले भने जेठ १० गते जारी गरेको उक्त परिपत्रमा भएका व्यवस्थाहरु खारेज गरेर एक तिहाइ कर्मचारीहरुको उपस्थितिमा बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले आज जारी गरेको निर्देशनअनुसार नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सम्पूर्ण उपायहरु अवलम्बन गर्नुुपर्नेछ । यसैगरी बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामको लागि मात्र कार्यालयमा कर्मचारी उपस्थित गराई बैंकिङ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
कोभिड १९ को संक्रमण जोखिम न्यूनीकरणको लागि निषेधाज्ञा जारी भएका स्थानहरुमा रहेका केन्द्रीय कार्यालयको हकमा एक तिहाइ कर्मचारी तथा शाखा कार्यालयको हकमा सम्भव भएसम्म कम कर्मचारीहरुको उपस्थितिमा न्यूनतम शाखाबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेछ । निर्देशनअनुसार कर्मचारीहरुको आवश्यक उपस्थिति रोक्नको लागि सूचना प्रविधिको उच्चतम प्रयोग गरी वर्क फ्रम होम तथा रिमोट एक्सिसबाट कार्य सम्पादन गर्न जोड दिनुपर्नेछ ।
यसैगरी ग्राहकको चापलाई दृष्टिगत गरी शाखाहरु खोल्ने र यसरी शाखाहरु खोल्ला सकेसम्म न्यूनतम संख्यामा शाखाहरु सञ्चालनमा ल्याई वैकल्पिक शाखा कार्यालयहरुबाट आलोपालो गरी सेवा प्रदान गर्दा बन्द हुने शाखा कार्यालयको मूलढोका, संस्थाको वेबसाइट तथा सामाजिक सञ्जाल समेतमा सेवासम्बन्धी सोधपुछका लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा, शाखा खुल्ला रहनेसम्बन्धी सूचना दैनिक रुपमा प्रकाशन गर्नुपर्नेछ ।
निर्देशनअनुसार संक्रमण जोखिमलाई ध्यान दिई सेवाग्राहीलाई सम्भव भएसम्म फेस टुु फेस बैंकिङ सेवाभन्दा पनि विद्युतीय माध्यमबाट सेवा प्रदान गर्नेमा जोड दिनुपर्नेछ । यसैगरी विभिन्न निकायबाट जारी भएका र हुुने निषेधात्मक आदेशको पालनाको लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिङ सेवा प्र्रदान गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
निर्देशनअनुसार महामारीको हालको अवस्थामा सूचना प्रविधिको अत्यधिक प्रयोग गरी बैंक तथा वित्तीय संस्थाका अधिकांश कार्य विद्युतीय माध्यमबाट गर्नुपर्ने भएकाले यसबाट उत्पन्न हुनसक्ने जोखिम तथा यसको दुरुपयोगप्रति समेत चनाखो रही आवश्यक जोखिम व्यवस्थापन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । निर्देशनअनुसार यस अवधि २०७८ वैशाख १९ र २०७८ जेठ १० गते जारी गरिएका सूचनाहरु भने खारेज गरिएको छ ।