काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले सेयर कारोबार गर्दा जोखिमलाई ध्यानमा राखेर कारोबार गर्न आग्रह गरेको छ । धितोपत्र बजार जोखिम मुक्त नरहेको हुँदा यस बजारमा लगानी गर्ने लगानीकर्ताले जोखिमको आकलन गरेरमात्र लगानी गर्न बोर्डले विज्ञप्तिमार्फत सूचित गराएको हो ।
बजारको सर्वमान्य सिद्धान्तअनुसार धितोपत्र बजार सधैँ बढी रहने मात्र नभई समय क्रममा घटबढ भइ रहने बजार हो । यस बजारमा हल्ला वा लहलहैमा लागेर लगानी गर्नु अत्यन्त जोखिमयुक्त हुन्छ । कुनै पनि धितोपत्रमा लगानी गर्नुपूर्व उक्त कम्पनीको वित्तीय अवस्था र विविध परिसूचकबारे बढीभन्दा बढी जानकारी प्राप्त गरी आफ्नो जोखिम वहन गर्नसक्ने क्षमता मूल्यांकन गरेर मात्र लगानीसम्बन्धी निर्णय गर्नु उपयुक्त हुने बोर्डको भनाइ छ ।
‘धितोपत्र बजारले प्रविधिमा फड्को मार्दै गर्दा लगानीकर्ताले घरमा बसी कारोबार गर्न पाएको सर्वविदितै छ । अहिलेको प्रतिकूल अवस्थामा समेत धितोपत्र बजारमा कारोबार सुचारु रहेकोले लगानीकर्ताहरुले ज्यादै उत्साहका साथ धितोपत्र कारोबार गरिरहेकोमा बोर्ड सम्पूर्ण लगानीकर्ताहरुलाई धन्यवाद दिन चाहन्छ’, बोर्डले भनेको छ, ‘अहिलेको अवस्था हेर्दा लगानीकर्ताहरुले धितोपत्र बजारलाई गरेको विश्वासले गर्दा कारोबार रकममा ऐतिहासिक रेकर्ड स्थापना कायम भई करिब २० अर्ब नजिक पुगेको छ । यसरी कारोबार रकममा रेकर्ड कायम हुन गएकोमा बोर्डले यसलाई सकारात्मक रुपमा लिएको छ ।’
लगानीकर्ताको हित संरक्षणका लागि बोर्ड सदैव तत्पर रहेको भन्दै उसले लगानीकर्ताको हितका लागि समय–समयमा सूचना तथा जानकारी प्रकाशन गर्नुका साथै बजारप्रति सचेत गराउने कार्य समेत गर्दै आएको जनाएको छ । लगानीकर्ताको हित संरक्षणका लागि बोर्डले बजारका हरेका क्रियाकलापलाई नजिकबाट अध्ययन गर्ने गरेको र बजार सहभागीको जोखिमको स्तरलाई विश्लेषण गर्ने कार्य समेत गर्दै आएको छ ।
यसै सन्दर्भमा धितोपत्र बजारमा सूचीकृत रहेका हरेक संगठित संस्थाको सम्बन्धमा बोर्डले निरन्तर रुपमा अध्ययन र अनुगमन गर्दै आएको छ । बोर्डबाट गरिएको अध्ययन र अनुगमनका क्रममा कतिपय सूचीकृत कम्पनीहरुले समयमा सूचना जानकारी प्रवाह नगराएकोमा त्यस्ता कम्पनीहरुको कारोबार स्थगन हुने व्यवस्था समेत गरेको छ ।
‘विगतको एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरुको मूल्यवृद्धि तीन सय प्रतिशत र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात एक सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरु छनौट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको थियो । साथै उक्त सूचीकृत संगठित संस्थाहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्रसम्बन्धी कसुरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको व्यहोरा बोर्ड जानकारी गराउन चाहन्छ’, बोर्डले भनेको छ ।
बोर्डबाट गरिएको उक्त प्रारम्भिक अध्ययनबाट सम्बन्धित संगठित संस्थाको सम्बन्धमा लगानीकर्ताले समेत आवश्यक जानकारी प्राप्त गरी लगानीसम्बन्धी निर्णय गर्न उचित हुने देखिएकोले हाललाई त्यस्ता जोखिमयुक्त कम्पनीहरुको परिसूचक, विवरण हेरेर लगानी गर्न लगानीकर्ताहरुलाई बोर्डले भनेको छ ।