काठमाडौं ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० जना कोभिड संक्रमित बिरामीहरूको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । दोस्रो लहर सुरु भएयता प्रतिष्ठानमा निरन्तर कोभिड बिरामीका लागि जटिल किसिमका शल्यक्रियाहरू गरिरहेको अस्पतालले जनाएको छ ।
अधिकांश जटिल शल्यक्रियाहरू उपत्यकाभन्दा बाहिर प्रतिष्ठानमा मात्र सम्पन्न भएका छन् । दोस्रो लहर सुरु भएयता गत वैशाख २७ गतेबाट कोभिड अस्पतालमा शल्यक्रिया सुरु गरिएको हो । जेष्ठ अन्तिमसम्ममा २० वटा जटिल प्रकारका शल्यक्रिया भएको अस्पतालले जनाएको छ । जसमध्ये प्रतिष्ठानका न्यूरो सर्जन डा. आलोक दाहाललगायतको टिमले तीनवटा न्यूरोसम्बन्धी जटिल शल्यक्रिया गरेको छ । अचेत अवस्थामा आएका, आँखा खोल्न नसकेका, टाउकोमा रगत जमेका र हातखुट्टा नचलेका बिरामीहरूको सफल शल्यक्रिया गरिएको हो ।
त्यसैगरी जनरल सर्जरीबाट प्रा.डा. राकेश गुप्ता, डा. सुरेश प्रसाद साह, डा. निर्मल साह, डा. रूपेश प्रसाद साह, डा. भवानी खनाल, डा. विजय श्रेष्ठलगायत अन्य चिकित्सकहरूले सातवटा जटिल किसिमका शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन् । शल्यक्रियाको क्रममा चारवटा सानो आन्द्राको शल्यक्रिया, दुईवटा एपेन्डिक्सको शल्यक्रिया र एउटा ठूलोआन्द्राको शल्यक्रिया सम्पन्न गरिएको थियो । त्यसैगरी १२ इन्च लामो रडले करङको हाडलाई छेडी फोक्सो र मुटुमा चोट पु-याएको बिरामीको जटिल शल्यक्रिया पनि सम्पन्न गरिएको थियो । कार्डियो भास्कुलर सर्जन डा. लोकेश शेखर जैसवाल तथा जेनेरल सर्जन डा. सुरेश प्रसाद साहको टोलीले उक्त जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो ।
त्यसैगरी प्रतिष्ठानको नाक, कान, घाँटी विभागका डा. शंकर प्रसाद साह र डा. ऋषिराज साहको टोलीले एक संक्रमित बिरामीको घाँटीमा अड्किएको हड्डी सफलतापूर्वक निकालेको थियो । यसैक्रममा गाइनो विभागका चिकित्सकहरूले संक्रमित बिरामीहरूको आठवटा सिजिरिङ र नौवटा नर्मल डेलिभरी गराएका थिए । जस्मध्ये पाँचवटा सिजरिङ डा. दिप्ती दासले, दुईवटा डा. मदन खड्का र एउटा डा. मनोज साहले गरेका थिए ।