काठमाडौँ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले ११ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १२ लाख २२ हजार नौ सय रुपैयाँमध्येबाट ११ प्रतिशत बोनस सेयर तथा चुक्ता पुँजीको शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोेषणा गरेको हो ।
कम्पनीले मंगलबार भर्चुअलरूपमा बसेको सञ्चालक समितिको तीन सय एकऔँ बैठकले लाभांश वितरणसम्बन्धी उक्त निर्णय गरेको हो । लाभांश वितरणसम्बन्धी उक्त निर्णय यही असार ३० गते हुने कम्पनीको २४औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा भने २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १७ करोड ४१ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी ३८ रुपैयाँ दुई पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय ५६ रुपैयाँ ६३ पैसा रहेको छ ।