दोलखा ।
आगामी आर्थिक वर्षका लागि जिल्लाका नौवटै स्थानीय तहले बिहीबार बजेट गाउँसभामा पेस गरेका छन् । दोलखामा आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि सबैभन्दा कम बजेट बैतेश्वर र मेलुङ गाउँपालिकाले ल्याएका छन् ।
आगामी आर्थिक वर्षका लागि मेलुङ गाउँपालिकाले ४६ करोड २१ लाख बराबरको बजेट गाउँसभामा पेस गरेको छ भने बैतेश्वर गाउँपालिकाले ४७ करोड ९१ लाख २८ हजार रुपैयाँबराबरको बजेट गाउँ सभामा पेस गरेको छ । त्यसैगरी भीमेश्वर नगरपालिकाले सबैभन्दा बढी ८८ करोड ५९ लाख ५३ हजार रुपैयाँबराबरको बजेट नगरपालिकाको छैटौँ नगरसभामा पेस गरेको छ ।
जिरी नगरपालिकाले ६० करोड ५९ लाखबराबरको बजेट ल्याएको छ भने तामाकोशी गाउँपालिकाले ७० करोड ७४ लाख ६४ रुपैयाँ, गौरीशंकर गाउँपालिकाले ५१ करोड ४४ लाख ३८ हजार रुपैयाँ, शैलुङ गाउँपालिकाले ५७ करोड ६५ लाख ७२ हजार रुपैयाँ, कालिञ्चोक गाउँपालिकाकाले ६७ करोड ३२ लाख ४४ हजार रुपैयाँ र विगु गाउँपालिकाले ५० करोेड ५८ लाख ४१ हजार रुपैयाँबराबरको वजेट गाउँसभामा प्रस्तुत गरेका छन् । यहाँका सबै स्थानीय तहले बजेटमा स्वास्थ्य, शिक्षा, उत्पादनमूलक उद्योग, कृषि क्षेत्रको विकास, आर्थिक विकासलगायतका योजनालाई प्राथमिकतामा राखेको छन् ।