काठमाडौं ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । बोर्डका अनुसार उक्त कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ६० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि आवेदन दिएको हो । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने सिभिल क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड एक लाख ३३ हजार २२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा नौ करोड ८१ लाख ३७ हजार नौ सय तीन रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी नौ रुपैयाँ ५४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३५ रुपैयाँ ७५ पैसा रहेको छ ।