काठमाडौं ।
ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदको लागि कर्जासम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिसप्राप्त ग्राहकहरूले टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल तथा सिप्रदी ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात् बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडी ग्राहकवर्गहरूलाई ७० प्रतिशतसम्म कर्जासहित सजिलै प्राप्त हुनेछ । बैंकको देशभरि फैलिएका एक सय पाँचवटै शाखाबाट उक्त सवारीकर्जा सेवाको लाभ लिन सकिनेछ ।
गुणस्तरीय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरूलाई थप सहज हुनेछ । सिप्रदी ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहीहरूलाई टाटा गाडी खरिद तथा बिक्रीपश्चात्को सेवा दिँदै आएको छ । बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।