काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठीपत्रहरु ओसारपसार गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सन् २०२१ जुलाई १ देखि लागू हुने सो सम्झौताअन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अब निगममार्फत मात्र सामान तथा चिठीपत्रहरु ढुवानी हुनेछन् ।
यसअघि विभागले विभिन्न विदेशी हवाइ कम्पनीहरुमार्फत सो काम गराइरहेको थियो । यसबाट विदेशी हवाइ सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौँ रुपैयाँ देशभित्रै रही विदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्ने विश्वास लिइएको छ । सम्झौतामा नेपाल वायुसेवा निगमको तर्फबाट महाप्रबन्धक डिम प्रसाद पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका थिए ।