अमेरिका । विश्वचर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकको सेयर बजार मूल्यांकन १० खर्ब अमेरिकी डलर माथि पुगेको छ । अमेरिकी सरकारी नियामकविरुद्ध अदालतमा मुद्दा जितेसँगै कम्पनी पहिलोपटक १० खर्ब डलर मूल्यांकन भएका अन्य कम्पनीको क्लबमा समावेश भएको हो ।
संघीय एक अदालतले संघीय व्यापार आयोग (एफटीसी)ले दायर गरेका दुई मुद्दा खारेज गरिदिएपछि फेसबुकको सेयर ४.२ प्रतिशतले उकालो लागेको थियो । सेयर मूल्यवृद्धिसँगै कम्पनी १० खर्ब डलरको मूल्यांकनमा आएको हो । फेसबुकविरुद्ध सरकारी निकायले ‘एन्टि–ट्रस्ट कम्प्लेन्ट’ मुद्दा दर्ता गरेका थिए ।
त्यसबाहेक अमेरिकाका ४६ राज्यले फेसबुकविरुद्ध दायर गरेको सोही किसिमको मुद्दा पनि समय गुज्रिसकेको भन्दै अदालतले खारेज गरिदिएको बताइएको छ । कोलम्बिया राज्यको जिल्ला अदालतले सरकारी आरोप कानुनी रुपले अपर्याप्त रहेको फैसला लेखेका छन् । त्यस्तै सरकारी निकायले थप प्रमाण जुटाउन समेत नसकेको अदालतले बताएको छ । एफटीसीले दायर गरेको मुद्दामा फेसबुकले ह्वाट्सएप र इन्स्टाग्रामलाई टुक्राउनुपर्ने माग समेत गरेको थियो । फेसबुकले इन्स्टाग्राम सन् २०१२ मा र सन् २०१४ मा ह्वाट्सएप खरिद गरेको थियो ।
यसका बाबजुद उक्त अभियोग सरकारी निकायले जुलाई २८ सम्म अझै पुनः दर्ता गर्न पाउनेछन् । तर फेसबुकका लगानीकर्ताले भने यसलाई महत्वपूर्ण विजयका रुपमा लिएका छन् । सोही कारण फेसबुकको सेयर मूल्य ह्वात्तै बढेको हो । फेसबुकको प्रवेशसँगै १० खर्ब डलर मूल्यांकन हुने कम्पनीको संख्या अब पाँच पुगेको छ । यसअघि नै आईफोन निर्माता एप्पल, गुगलको मातृकम्पनी अल्फाबेट, माइक्रोसफ्ट र अमेजन १० खर्ब डलर मूल्यांकन हुने कम्पनीमा कायम छन् । आफूविरुद्ध मुद्दा परेपछि फेसबुकले गत मार्चमा दुवै मुद्दा खारेज गर्न संघीय अदालतमा निवेदन दिएको थियो ।