काठमाडौं ।
निर्वाचन आयोगले सूचना प्रकाशित गरी २०७८ जेठ ८ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकले मात्र आगामी कात्तिक २६ र मंसिर ३ गते तोकिएको आम निर्वाचनमा मतदान (भोट) गर्न पाउने सूचना जारी गरेको छ । तोकिएको उक्त मितिमा निर्वाचन हुने/नहुने भन्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ । निर्वाचन आयोगले भने राजपत्रमा सूचना प्रकाशित गरी कहिलेसम्म १८ वर्ष उमेर पुगेका नागरिकले मतदात गर्न पाउने भनेर जानकारी गराएको हो ।
जेठ ८ गतेसम्म १८ वर्ष उमेर पुगेकाले अब मतदाता नामावलीमा आफ्नो नाम समावेश गराउनुपर्नेछ । निर्वाचन आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ६ को खण्ड (ख) ले दिएको अधिकार प्रयोग गरी मतदान गर्ने मतदाताको उमेरको हदम्याद तोकेको हो । सर्वोच्चमा विचाराधीन मुद्दाको भने आगामी साता किनारा लाग्ने अपेक्षा गरिएको छ । प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरिएको बारेमा परेका मुद्दामा बुधबार पनि सरकारी पक्षले बहस गरेको थियो । बिहीबार पनि सरकारी पक्षको बहस छ । बिहीबार सरकारी पक्षको बहस सकिने अपेक्षा गरिएको छ ।
यस्तै, निर्वाचन आयोगले दुईवटा कम्युनिष्ट पार्टी दर्ता गर्ने निर्णय पनि राजपत्रमा प्रकाशित गरेको छ । आयोगका अनुसार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) र नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक) दल दर्ता गर्ने निर्णय भएको छ ।