काठमाडौं ।
सरकारले नेपाल प्रवेशका लागि १३ वटा स्थल नाका मात्र प्रयोग गर्न पाइने व्यवस्था गरेको छ । ती नाकाबाट नेपाली मात्र प्रवेश गर्न पाउनेछन् । नेपाली मात्र प्रवेश गर्न पाउने व्यवस्था सरकारले गरे पनि भारतीय नागरिकहरु पनि धमाधम नेपाल प्रवेश गरिरहेका छन् ।
स्रोतका अनुसार सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीकै सहयोगमा अवैध रुपमा भारतीय नागरिक नेपाल प्रवेश गरिरहेका छन् । अहिले काठमाडौंसम्म पनि भारतीय नागरिक आइसकेका छन् । विभिन्न नक्कली परिचयपत्र देखाएर उनीहरु नेपाल प्रवेश गरेका हुन् ।
सरकारले नेपालीका लागि इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी, महोत्तरीको भिट्टमोड, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, दार्चुलको पुलघाट, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकीबाट नेपाली नागरिक स्वदेश फर्किन पाउने व्यवस्था गरेको छ ।
ती नाकाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राखेर कोभिड–१९ भए/नभएको चेकजाँच र क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई सूचित गरेको छ ।
सरकारले केही निश्चित देशबाट नेपालमा प्रवेश गर्नका लागि हवाइजहाज सञ्चालनको निर्णय पनि यसअघि नै गरिसकेको छ । तोकिएका देशबाट आउने नागरिकलाई पनि स्थानीय तहले निगरानीमा राख्नुपर्नेछ । स्थल र हवाइमार्गबाट नेपाल प्रवेश गर्नेहरुले तोकिएको मितिसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ । तर, नेपालमा क्वारेन्टाइनमा बस्न कडाइ गर्न सरकारले सकेको छैन । विमानबाट नेपाल प्रवेश गर्नेहरुको ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ भएको रिपोर्ट सम्बन्धित एयरलाइन्समार्फत पठाउनुपर्नेछ । त्यसरी रिपोर्ट नपठाएका यात्रुहरु नेपाल प्रवेश गर्न पाइनेछैन ।
सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाइ उडानको साथै विभिन्न जिल्लामा सार्वजनिक सवारीसाधन सञ्चालनको लागि पनि खुला गरेको छ । सार्वजनिक यातायातको साधन सञ्चालनमा आएसँगै कोभिड–१९बाट संक्रमितको संख्या बढ्नपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार दुई हजार आठ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ ।
मंगलबार दुई हजार छ सय ३६ जनामा मात्र कोरोना देखिएको थियो । मंगलबार ११ हजार सात सय ४८ जनाको परीक्षण गरिएको थियो भने बुधबार ११ हजार पाँच सय ६८ जनाको मात्र कोरोना परीक्षण गरिएको थियो । परीक्षणको दर मंगलबारभन्दा बुधबार घट्दा पनि संक्रमितको संख्यामा वृद्धि भएपछि स्वास्थ्यकर्मीहरु चिन्तित भएका छन् ।
सरकारले स्वास्थ्य मन्त्रालयको कुरा नसुनी व्यापार/व्यवसाय गर्नेको कुरा सुनेर निषेधाज्ञा खुकुलो पारेको छ । अहिले काठमाडौंमा त नाम मात्रकै निषेधाज्ञा छ । बाहिर जिल्लाबाट सार्वजनिक बसमा मानिस आउनेबाहेक सबै काम चलेको छ । मानिसहरुको बजारमा भीडभाड बढेको छ । त्यही कारण पछिल्लो समयमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको बताइएको छ ।
बुधबार मृत्यु हुनेको संख्या पनि बढेको छ । बुधबार कोरोनाको कारण ४१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार २० जनाको मात्र कोरोनाको कारण मृत्यु भएको थियो । संक्रमितको मृत्युको संख्या बढेपछि सार्वसाधारण पनि त्रसित बनेका छन् । यद्यपि कामका लागि उनीहरु बाहिर निस्किन बाध्य छन् । बुधबारसम्म नेपालमा नौ हजार एक सय १२ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।
यद्यपि नेपालमा कोरोना निको हुनेको प्रतिशत ९३ दशमलव ३ प्रतिशत पुगेको छ । नेपालमा कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाउनेको संख्या २६ लाख एक हजार तीन सय १६ पुगेको छ भने दोस्रो मात्रा खोप लगाउनेको संख्या सात लाख ५५ हजार १९ मात्र छ ।