काठमाडौं ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक विनय कुमार तोदीले राजीनामा दिएका छन् । कम्पनीका अनुसार सञ्चालक तोदीले व्यक्तिगत कारण देखाँउदै यही असार ११ गते पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामालाई कम्पनीको यही असार १४ गते सोमबार बसेको सञ्चालक समितिको एक सय ६९औँ बैठकले स्वीकृत गरेको जानकारी कम्पनीले दिएको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ४२ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा आठ करोड ३७ लाख ६० हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी सात रुपैयाँ चार पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २९ रुपैयाँ ३१ पैसा रहेको छ ।