काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायमा खरिदसम्बन्धी कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण र मापदण्ड स्वीकृत गरेको छ । सार्वजनिक खरिदसम्बन्धी कार्यलाई पारदर्शी, वस्तुनिष्ठ एवं विश्वसनीय बनाउन सार्वजनिक निकायमा खरिद महाशाखा वा एकाइ गठन विधि र सदस्य संख्या निर्धारणलगायत प्रावधानसहितको योग्यता निर्धारण र मापदण्ड स्वीकृत गरिएको छ ।
स्वीकृत मापदण्डमा खरिद एकाइ प्रमुख तथा सदस्यको योग्यता निर्धारण तथा बोलपत्र मूल्यांकन समिति र खरिद सम्झौता व्यवस्थापन/कार्यान्वयनमा काम गर्ने कर्मचारीको योग्यता निर्धारण गरिएको छ ।
खरिदमा संलग्न कर्मचारीलाई तालिम र क्षमता विकास कार्यक्रम, आन्तरिक नियन्त्रण प्रणाली र खरिदमा संलग्न कर्मचारीको स्वार्थ बाझिन नहुनेलगायत विषयमा निश्चित आधार, योग्यता र मापदण्ड समावेश गरी त्यसमा संलग्न कर्मचारीको योग्यता निर्धारण मापदण्ड सचिवस्तरीय निर्णयबाट स्वीकृत गरिएको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सार्वजनिक खरिद ऐन २०६३ मा सार्वजनिक निकायले खरिदसम्बन्धी कार्य गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेको योग्यता भएको र खरिद कार्यसम्बन्धी ज्ञान भएको वा तालिमप्राप्त गरेको कर्मचारीबाट गराउनुपर्ने व्यवस्था छ ।
कार्यप्रकृतिका आधारमा प्रशासनिक, प्राविधिक र लेखासम्बन्धी काम गर्ने कर्मचारीमध्ये खरिदसम्बन्धी ज्ञान भएका वा तालिम लिएका कर्मचारीलाई समावेश गरी खरिद एकाइ गठन गरिनुपर्नेछ । मूल्यांकन समितिका निर्धारित पदाधिकारीबाहेकका कर्मचारीमध्ये वरिष्ठ कर्मचारीलाई खरिद एकाइ प्रमुखको जिम्मेवारी तोक्नुपर्नेछ । खरिद सम्झौता व्यवस्थापनमा काम गर्ने कर्मचारी खरिदको प्रकृतिसँग मेलखाने विषयमा प्राविधिक ज्ञान वा अनुभव भएको हुनुपर्ने मापदण्ड र योग्यतामा उल्लेख छ ।