काठमाडौं । नेपाल राष्ट्र बैंकको नाममा फेक फेसबुक खाता खोलेर ठगी गर्नेगरेको पाइएको छ । आफ्नो नाममा फेसबुक खाता खोलेको थाहा पाएपछि राष्ट्र बैंकले प्रहरीसमक्ष उजुरी समेत गरेको छ ।
फेसबुकमार्फत केन्द्रीय बैंकको पेज बनाएको र सोही पेजमार्फत रकम संकलनका लागि सर्वसाधारणलाई आग्रह गरिएको भेटिएपछि साइबर अपराधसम्बन्धी कानुनअनुसार कारबाहीको माग गरिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले आफ्नो कुनै फेसबुक एकाउन्ट नभएको स्पष्ट समेत पारेको छ ।
राष्ट्र बैंकको नाममा खोलिएका खाता नक्कली भएकाले तीनको भ्रम तथा लालचमा नपर्न बैंकले सर्वसधारणलाई आग्रह गरेको हो । ‘हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस बैंकबाट कुनै पनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेजमार्फत् नगरिएको बेहोरा अनुरोध गर्दै अनधिकृतरूपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी तथा सूचना पोस्ट भइरहेको सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’
बुधबार राष्ट्र बैंकको लोगो प्रोफाइल राखी ‘सेन्ट्रल बैंक अफ नेपाल’ नामक फेसबुक पेजमा बनाइएको छ । जसमा राष्ट्र बैंकको पुरानो भवनको फोटो राखेर केन्द्रीय बैंकले दुई सय व्यक्तिका लागि नगद अनुदान भनी गलत सामग्री पोस्ट गरेको थियो । राष्ट्र बैंकले नेपाल दूरसञ्चार प्राधिकरणमा सामाजिक सञ्जालमा राष्ट्र बैंकको नाममा खुलेका सबै नक्कली अकाउन्ट बन्द गर्न पनि आग्रह गरेको छ ।