न्युयोर्क ।
अमेरिकी सेयर बजारमा प्रवेश गरेको पहिलो दिन नै चिनियाँ कम्पनी दिदी ग्लोबलको ६८ अर्ब अमेरिकी डलर मूल्यांकन भएको छ । बीबीसीका अनुसार न्युयोर्क स्टक एक्सचेन्जमा कारोबारको सुरु दिन नै सवारीसाधन सेवाप्रदायक कम्पनी दिदी अर्बौँ मूल्यवान् कम्पनी बनेको हो ।
कारोबारको समय सकिँदा कम्पनीको सेयर १४ डलर निष्काशन मूल्यभन्दा एक प्रतिशत धेरै रहेको थियो । सन् २०१४ मा अलिबाबाको अमेरिकी सेयरबजारमा प्रवेशयता दिदीको दोस्रो ठूलो चिनियाँ सूचीकरण भएको बताइएको छ ।
अमेरिकी कम्पनी उबेर चीनमा सूचीकरण हुँदा चार अर्ब ४० करोड डलरको बनेको थियो । यसले चिनियाँ कम्पनीहरु अमेरिकी सेयरबजारमा फस्टाइरहेको देखाउँछ । यो वर्ष पहिलो छ महिनामाा २९ चिनियाँ कम्पनीले आईपीओमार्फत सात अर्ब ६० करोड अमेरिकी डलर उठाएका छन् ।
वासिङटन र बेइजिङबीच तीव्र तनावका बीच र अमेरिकी नियामकद्वारा चिनियाँ कम्पनीविरुद्ध कडिकडाइका बीच दिदीको अमेरिकी सेयरबजारमा प्रवेश भएको हो । दिदीले गत मार्च महिनामा सय अर्ब डलरसम्म मूल्यांकन हुने आशा गरेको थियो । तर लगानीकर्ताहरुको कम्पनीको विस्तार योजनालाई लिएर नाफाको गतिमा शंकाले आशातित मूल्यांकन नभएको बताइएको छ ।
यो वर्षको पहिलो तीन महिनामा कम्पनीले तीन करोड डलर नाफा गरेको थियो । त्यसअघि कम्पनी घाटामै रहेको थियो । कोरोना महामारीका कारण सन् २०२० मा कम्पनीले एक अर्ब ६० करोड डलर घाटा व्यहोरेको बताएको थियो । त्यस्तै यही वर्ष जुनमा चीन सरकारले दिदीविरुद्ध अनुसन्धान गरिरहेको बताइएको थियो । द स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसनले साना प्रतिस्पर्धीलाई नोक्सानी पु¥याएको आशंकामा अनुसन्धान अघि बढाएको थियो । यसै पनि चीनले अलिबाबा, टेन्सेन्टजस्ता कम्पनीमाथि निगरानी बढाएको छ ।
कम्पनीका संस्थापक चेंग वेईले सन् २०१२ मा राइड हेलिङ कम्पनी स्थापनाबारे सोचिरहेका थिए । एकपटक बेइजिङमा ट्याक्सी बुक गर्न संघर्ष गर्नुपरेपछि उनमा यस्तो विचार जागृत भएको थियो । चेंगले कम्पनीमा साढे छ प्रतिशत सेयर स्वामित्व लिनेछन् भने ३५.५ प्रतिशत भोटिङ पावर पनि उनकै साथमा हुनेछ ।
जापानको सफ्टब्यान्क दिदीको ठूलो लगानीकर्ता हो । यसमा उसको २० प्रतिशत सेयर स्वामित्व छ । यसलाई चिनियाँ प्रविधि कम्पनीहरु अलिबाबा र टेन्सेन्टले पनि समर्थन गरेका छन् । त्यसबाहेक उबेरको कम्पनीमा १२ प्रतिशत सेयर स्वामित्व छ । दिदीले सन् २०१६ मा उबेर चाइना लिएको थियो ।