काठमाडौं ।
कुमारी बैंक लि. र नेपालमा आँखसम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आई सेन्टर प्रालिबीच उक्त उपचार केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता–पत्रअनुसार दृष्टि दि भिजन आई सेन्टर प्रालिबाट प्रदान गरिने आँखा उपचारसम्बन्धी सेवाको सेवाशुल्क कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २० प्रतिशतसम्म र आँखासम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।
कुमारी बैंक लिमिटेडका मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्य र दृष्टि दि भिजन आई सेन्टर प्रालिका निर्देशक डा. रोहित सैँजुले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी एक सय ९४ शाखा सञ्जाल, एक सय ६५ एटीएम, २६ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।
साथै, आफ्ना ग्राहकहरुलाई सरल, सुलभ र सुरक्षित स्वास्थ्य सेवा प्राप्तिका लागि स्वास्थ्य सेवाप्रदायक संस्थासँगको सहकार्य र सहजीकरणलाई निरन्तरता दिइने जानकारी दिइएको छ । (आर्थिक दैनिकबाट)