काठमाडौँ । नेपाल वायुसेवा निगममा तालाबन्दी भएको छ । निगममा कार्यरत कर्मचारीहरूले निगमलाई कम्पनी मोडलमा लानलागेको भन्दै त्यसको विरोधमा तालाबन्दी गरेका हुन् ।सधैँ घाटामा जाने निगमलाई मन्त्रालयमा नयाँ मन्त्री आउनासाथ फाइदामा लाने भन्दै विभिन्न विदेशी साझेदार भित्र्याउन लागिपर्ने गरेकामा यस पटक भने अर्थ मन्त्रालयले नै निगम सञ्चालक समितिसँग कम्पनीमा लाने मोडलमा के गर्न सकिन्छ एउटा ड्राफ्ट पठाउन भनेसँगै निगमको सञ्चालक समितिले कम्पनी मोडलमा लानको लागि आवश्यक पर्ने प्रबन्धपत्र र नियमावलीको सामान्य करेक्सन गरेर मन्त्रालय पठाएको थियो ।
निगमका कर्मचारीहरूले निगमलाई कम्पनीमा लान हाल कायम नेतृत्वले भूमिका खेलेको भन्दै महाप्रबन्धक डिम प्रसाद पौडेलको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । निगममा विदेशी साझेदार भित्र्याएर प्रतिस्पर्धी, नाफामूलक र सेवामुखी बनाउने सरकारले विभिन्न चरणमा बताउँदै आएको थियो ।सर्वाेच्च अदालतले २०७५ पछि लोकसेवा लडेर नाम निकाली नियुक्त भएका ८० जना र बढुवा भएका एक सय ७५ जनाभन्दा बढीको नियुक्ति बदर गरेको आदेश निगममा पुगेको भोलिपल्टै निगममा तालाबन्दी भएको हो । निगमलाई कम्पनी मोडलमा लगी नाफामूलक बनाउने भनी बाहिर हल्ला चले पनि विदेशी साझेदार नभई नेपालकै एक प्राइभेट कम्पनीलाई निगम जिम्मा लगाउन लागेको स्रोतले बतायो । स्रोतको अनुसार त्यसमा निगमकै नेतृत्वको भूमिका छ ।
यता निगमका महाप्रबन्धक पौडेलले भने कर्मचारीहरूको आन्दोलनकै पक्षमा आफू रहेको बताए । ‘नेपाल सरकारको स्वामित्वमा रहेको संस्थालाई हामी आफैँले मलजल गरे फलाउन फुलाउन सकिन्छ’, महाप्रबन्धक पौडेलले भने,‘कम्पनी मोडलमा लाने सरकारको तयारीको मैले पनि विरोध गरेको छु ।’ यता कर्मचारीहरूले भने महाप्रबन्धक पौडेलले निगमलाई कम्पनी मोडलमा लाने निर्णय गरेसँगै भागी भागी हिँडेर कार्यालय समेत नआएको बताउँछन् । निगमलाई कम्पनी मोडलमा लाने निर्णयपछि निगममा क्रियाशील तीनवटै टे«ड युनियनले यसविरुद्ध संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
टे«ड युनियनको संयुक्त ध्यानाकर्षण पत्रमा नेपाल सरकारको पूर्ण स्वामित्व भएको अविच्छिन्न स्वायत्त संस्थालाई गत असार १३ गते निगम सञ्चालक समितिको अध्यक्ष नभएको अवस्थामा हवाइ माफियाको चंगुलमा परी, बदनियतपूर्ण तबरले आमरुपमा सरोकारवालाहरूसँग छलफलै नगरी एकलौटीरुपमा सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछानेको अध्यक्षतामा बसेको सञ्चालक समितिले निगमलाई कम्पनीमा रुपान्तरण गरी निजीकरण गर्ने भनी प्रबन्धपत्र र नियमावलीको मस्यौदा तयार गरी सञ्चालक समितिबाट अनुमोदन समेत गरी सम्बन्धित मन्त्रालयमा पठाएको निर्णय संस्थाघाती भएको हुनाले सो निर्णयविरुद्ध आइतबार तीनवटै टे«ड युनियनको आह्वानमा नायब महाप्रबन्धक (प्रा.) र नायब महाप्रबन्धक (प्र.) निगमका सम्पूर्ण निर्देशक तथा कर्मचारीहरूको उपस्थितिमा सो निर्णय खारेज गर्नुपर्ने निर्णय गर्नुपर्ने माग राखेको छ । निगममा हाल ने.वा.नि. कर्मचारी यनियन, ने.रा.क. संगठन, ने.वा.नि तथा ने.वा.नि कर्मचारी संघ गरी तीन युनियनहरू छन् ।
