काठमाडौं ।
सरकारले कोभिड–१९ का कारण विदेशबाट फर्किने यात्रुलाई होटल क्वारेन्टाइनको व्यवस्था गरेको छ । विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ को दफा ४(१) बमोजिम क्वारेन्टाइनका लागि होटलको व्यवस्था गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
विदेशबाट फर्केका यात्रुहरूको होटल क्वारेन्टाइन प्रयोजनको लागि पर्यटन विभाग र वाग्मती प्रदेशअन्तर्गतको उपत्यका पर्यटन कार्यालयमा दर्ता कायम भएका एक सय १० वटा होटलहरू क्वारेन्टाइन प्रयोजनको लागि सूचीकृत गरिएको हो । विभागअन्तर्गत होटल शाखाले आइतबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा होटलको सूची बुझाएको थियो ।
विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ को दफा ४(१) बमोजिम क्वारेन्टाइनका लागि निवेदन पेश गरेकामध्ये पर्यटन विभागमा दर्ता कायम भएका होटल जम्मा २७ र हाल वाग्मती प्रदेशअन्तर्गतको उपत्यका पर्यटन कार्यालयमा दर्ता कायम भएका जम्मा ८३ वटा गरी कुल जम्मा १ सय १० वटा होटलहरूलाई क्वारेन्टिन प्रयोजनका लागि सूचीकृत गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए । उनले सूचीकृत होटलहरूको नाम पर्यटन विभागको वेबसाइटमा समेत उपलब्ध गराएको बताएका छन् ।
विभागले क्वारेन्टाइन प्रयोजनका लागि पाँच तारे होटल, रिसोर्ट र पर्यटकीयस्तरीय होटलहरूको व्यवस्था गरेको छ । विदेशबाट फर्केका यात्रुहरूको आवश्यकताअनुरुप पाँचतारे होटल, रिसोर्टदेखि पर्यटकीयस्तरीय होटल क्वारेन्टाइन प्रयोजनको लागि व्यवस्था गरिएको विभागको भनाइ छ । जसमा २७ वटा तारे होटलहरू रहेका छन् ।
हायात रेजेन्सी, द सोल्टी काठमाडौं, काठमाडौं मेरियट होटेल र -याडिसन गरी चारवटा पाँचतार होटल रहेको छ । त्यस्तै, हिमालय योगा रिसोर्ट, ठमेल इको रिसोर्ट रहेका छन् भने पर्यटकीयस्तर होटलमा एम्बेसडर, होलिडे ताज, भिभान्ता, होटल जाम्पा, होटल नेपालय, पार्क भिलेज होटललगायतका छन् ।
क्वारेन्टाइन प्रयोजनको लागि उपलब्ध गराइने होटलहरूले कोभिड १९ विरुद्धको लागि सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । विभागले क्वारेन्टाइन प्रयोजनको लागि प्रयोग गरिने होटलमा कम्तीमा २० वटा कोठा हुनपर्ने, होटल क्वारेन्टाइनमा रहने अतिथिहरूको उपयोगको लािग छुट्टै गेट वा कम्पाउण्ड र खुला ठाउँ हुनुपर्ने, क्वारेन्टिनमा रहने अधिकारीहरूको स्वाब परीक्षणको नमूना संकलनका लागि आवश्यक खुला ठाउँ भएको, स्यनिटाइजार, पिउन तातोपानी, कोठामा कम्तीमा एउटा झ्याल र भेन्टिलेसनको व्यवस्था भएको हुनुपर्नेछ ।
त्यस्तै होटलहरू नवीकरण भएको, प्रतिव्यक्ति प्रतिदिन करसहित अधिकतमा एक हजार पाँच सय रुपैयाँमा ब्रेक फास्ट, लन्च र डिनरसहित खाने बस्ने व्यवस्था गर्नुपर्ने, क्वारेन्टिनमा बस्नेहरूको स्वास्थय अवस्थाबारे सम्बन्धित होटलले नियमित सोधपुछ तथा समस्या देखिएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराउनुपर्ने, थर्मल गन, साबुनपानीको उचित व्यवस्थापनलगायतको सुविधा उपलब्ध गराउनुपर्नेछ ।
कोभिड संक्रमण फैलिनबाट जोगिनको लागि भन्दै सरकारले विदेशबाट फर्किने यात्रुका लागि होटल क्वारेन्टाइनको व्यवस्था गरेको हो । यसअघि पनि मन्त्रालयले केन्द्रको निर्देशनअनुरुप यात्रुका लागि होटलको नाम सार्वजनिक गर्दै आएको छ । सरकारले केन्द्रलाई त्यसको जिम्मेवारी दिएको हुँदा केन्द्रले आवश्यकताअनुरुप निर्णय गरी अघि बढ्ने गरेको पाइन्छ ।